BIZMANDU
www.bizmandu.com

व्यवसायीका लागि योपटकको दसैं पनि खल्लो, भोटेकोशीको बाढीले २०० कन्टेनर सामान बगाएको अनुमान

२०८३ भदौ १०

व्यवसायीका लागि योपटकको दसैं पनि खल्लो, भोटेकोशीको बाढीले २०० कन्टेनर सामान बगाएको अनुमान
व्यवसायीका लागि योपटकको दसैं पनि खल्लो, भोटेकोशीको बाढीले २०० कन्टेनर सामान बगाएको अनुमान


काठमाडौं। चाडपर्वका लागि चीनबाट रसुवा नाका हुँदै मगाएको सामानमध्ये ५० प्रतिशतभन्दा बढी भोटेकोशी नदीको बाढीले बगाएको अनुमान गरिएको छ।

Vigo
GBIME
Tata

तीज, दसैं र तिहारलाई लक्षित गरेर चीनबाट आयात गरिएका रेडिमेड कपडा, जुत्ताचप्पल, ब्याग लगायत सामान भन्सार यार्डमा रहेका सबै बगाएको अनुमान गरिएको हो।

व्यवसायीका अनुसार चाडपर्वलाई लक्षित गरेर मगाएका सामानमध्ये ५० प्रतिशतभन्दा बढि भन्सार क्षेत्रमा थिए। बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति गरेको छ। भन्सार कार्यालयसहित आसपासका दर्जनौँ बस्ती प्रभावित भएका छन्।

व्यवसायीका अनुसार भन्सार यार्डमा रहेका सामानसँगै ठूलो संख्यामा विद्युतीय सवारीसाधन पनि बाढीले बगाएको छ। गत साउनदेखि तातोपानी नाका बन्द भएपछि व्यवसायीले चीनबाट आयात हुने सामान रसुवा नाकातर्फ मोडेका थिए। असार र साउनमा चीन पुगेर अर्डर गरिएका सामान अहिले धमाधम नेपाल भित्रिँदै थिए। तीमध्ये ठूलो हिस्सा बुधबारको बाढीमा परेको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले रसुवा भन्सार यार्डमा रहेका २०० भन्दा बढी कन्टेनर सामान बगाएको बताए। मंगलबार दिउँसो भन्सार पास भएर रोकिएका ६० वटा कन्टेनर पनि बगाएको उनले बताए। ‘चाडपर्वका लागि मगाएका सामान धेरै बगाएको अनुमान छ। टिमुरेमा सम्पर्क हुन सकेको छैन। मानवीय क्षति नै ठूलो रहेको जानकारी आइरहेको छ,’ उनले भने।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले टिमुरे क्षेत्रमा जनधनको क्षति ठूलो भएको प्रारम्भिक जानकारी आएको बताए। उनले धेरै व्यवसायी, कर्मचारी, चालक र अन्य कामदारको अवस्था अझै थाहा हुन नसकेको बताए।

श्रेष्ठका अनुसार चाडपर्वका लागि व्यवसायीले कुल आयातको करिब २० देखि २५ प्रतिशत सामान काठमाडौं ल्याइसकेका छन्। चीनबाट आयात भएकोमध्ये ठूलो हिस्सा रसुवा भन्सार र केरुङ क्षेत्रमा थियो। केरुङतर्फ रहेका सामानको अवस्था अझै स्पष्ट भएको छैन। तर, रसुवा भन्सार यार्डमा रहेका सामान बाढीले बगाएको उनले बताए।

‘यसपटक पोहोरभन्दा ठूलो जनधनको क्षति भएको छ,’ श्रेष्ठले भने, ‘धेरै व्यवसायीको सामान भन्सार कार्यालयसम्म आइसकेको थियो।’ श्रेष्ठका अनुसार सामान ल्याउन र भन्सार प्रक्रिया पूरा गर्न धेरै व्यवसायी टिमुरे पुगेका थिए। उनीहरूमध्ये केहीसँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ।

भन्सार आसपास रहेका व्यवसायी, कर्मचारी, क्यारियर, चालक र सहचालकको अवस्थाबारे पनि यकिन जानकारी प्राप्त हुन नसकेको उनको भनाइ छ।

न्युरोडको नेपा कम्प्लेक्समा जुत्ताचप्पलको होलसेल गरिरहेका चुडामणि पौडेलले तीजका लागि ल्याइएको ठूलो परिमाणको सामान बाढीले बगाएको बताए। उनका अनुसार मंगलबार भन्सार पास हुनुपर्ने सामान बुधबार बिहान बाढीको चपेटामा परेको हो। ‘आज बिहान हेर्दा सामान सबै बगाइसकेको रहेछ,’ उनले भने।

पौडेलले १० लाख मूल्य बराबरको सामान बगाएको जानकारी दिए। ‘भन्सार जाँच पास गरेर बुधबार ल्याउन ठिक्क पारिएको सामान बाढीले बगाएको छ। एक वर्षअघिको बाढीमा पनि हाम्रो ४० लाख रुपैयाँ मूल्य बराबरको सामान बगाएको थियो,’ उनले बिजमाण्डूसँग भने, ‘एक वर्षअघि बाढी र जेन्जी आन्दोलन तथा यो वर्ष फेरि बाढीले हाम्रो दसैं खल्लो बनायो। ठूलो व्ययभारमा हामी परिरहेका छौं।’

गत साउनदेखि रसुवा नाकाबाट आयात नियमित हुन सकेको थिएन। वर्षाका कारण नेपालतर्फको सडक बिग्रिएपछि भन्सारमा ठूलो परिमाणमा सामान रोकिएका थिए। सडक खुलेपछि ती सामान क्रमशः भन्सार यार्डमा आइरहेका थिए।

चाडपर्वका लागि ठूलो लगानीमा ल्याइएका सामान बाढीले बगाएपछि व्यवसायीहरू चिन्तित छन्। क्षतिको पूर्ण विवरण भने उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्रै यकिन हुने बताइएको छ।