काठमाडौं। भोटेकोसीमा आएको भीषण बाढीका कारण १५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीका कारण सञ्चालनमा रहेका ९ वटा आयोजना (३५९ मेगावाट) र निर्माणाधीन ५ वटा आयोजना (३९४ मेगावाट) प्रभावित भएका हुन्।
बाढी प्रभावित जिल्लामा ११ वटा जलविद्युत् आयोजना र २५ मेगावाटको सोलार प्लान्टबाट उत्पादन बन्द भएको छ। यसबाट कुल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ।
बाढी प्रभावित रसुवामा मात्रै संचालनमा रहेका २३६ मेगावाटका ५ वटा आयोजना र निर्माणाधीन ३४२ मेगावाटका ३ वटा आयोजनामा बाढीले क्षति पुर्याएको छ।
२१६ मेगावाटको निर्माणाधिन माथिल्लो त्रिशूली-१, संचालनमा हरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, निर्माणाधीन १२० मेगावाट क्षमताको रसुवा-भोटेकोशी निर्माणाधीन ४.४२ मेगावाट क्षमताको माथिल्लो मेलुङ-ए, संचालनमा रहेको ७८ मेगावाट क्षमताको सान्जेन खोला, संचालनमा रहेको ५ मेगावाट क्षमताको मैलुङ खोला, संचालनमा रहेको २० मेगावाट क्षमताको लाङटाङ खोला र संचालनमा रहेको २२ मेगावाटको चिलिमे आयोजनामा क्षति पुगेको छ।
यस्तै, नुवाकोटमा संचालनमा रहेका १२३ मेगावाटका ५ वटा आयोजना र निर्माणाधीन ५२.६ मेगावाटका २ वटा आयोजना प्रभावित भएका छन्। जसमा संचालनमा रहेका २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना, १४.१ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजना, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ए मा क्षति पुगेको छ।
निर्माणाधिन अवस्थामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३बी, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनामा पनि क्षति पुगेको छ।
यस्तै, २५ मेगावाट क्षमताको सोलार आयोजनामा पनि क्षति पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार प्रभावित जलविद्युत् तथा ऊर्जा आयोजनाहरुको कुल उत्पादन क्षमता ४३१.१ मेगावाट रहेको छ। यसमा सबैभन्दा ठूलो क्षमता भएको आयोजना १११ मेगावाटको रसुवागढी हो, जुन नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीअन्तर्गत पर्दछ।
बाढीका कारण राष्ट्रिय प्रणालीबाट बाहिर गएका आयोजना
| क्र.सं. | आयोजना (Plant) | क्षमता (MW) | कैफियत |
| 1 | रसुवागढी (Rasuwagadi) | 111 | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण सहायक कम्पनी |
| 2 | सालाससुङ्गी/साञ्जेन (Salasungi – Sanjen) | 78 | प्रभावित |
| 3 | माथिल्लो साञ्जेन (Upper Sanjen) | 14.8 | प्रभावित |
| 4 | साञ्जेन (Sanjen) | 42.5 | प्रभावित |
| 5 | चिलिमे (Chilime) | 22 | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण सहायक कम्पनी |
| 6 | लाङटाङ (Langtang) | 20 | प्रत्यक्ष प्रभावित, निजी प्रवर्द्धक (IPP) |
| 7 | माथिल्लो त्रिशूली ३ ‘ए’ (UT3A) | 60 | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण |
| 8 | माथिल्लो मैलुङ (Upper Mailung) | 14.8 | प्रभावित |
| 9 | मैलुङ (Mailung) | 5 | प्रभावित |
| 10 | त्रिशूली (Trishuli) | 24 | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण |
| 11 | देवीघाट (Devighat) | 14 | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण |
| 12 | एनईए सोलार (NEA Solar) | 25 | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण |
| कुल (१२ वटा आयोजना) | 431.1 | राष्ट्रिय प्रणालीबाट बाहिर |