काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका विभिन्न भू-भागमा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीले जलविद्युत् आयोजना र स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्याउनुका साथै टेलिफोन तथा इन्टरनेट सेवा ठप्प हुँदा प्रभावित क्षेत्र सम्पर्कविहीन बनेको हो।
नेपाल-चीन सीमा क्षेत्र तथा बाढी प्रभावित बस्तीहरूमा टेलिकम र इन्टरनेट सेवा बन्द हुँदा उद्धारका लागि सम्पर्क गर्न कठिन भएको छ।
सञ्चार सम्पर्क टुटेका कारण क्षति र भौतिक अवस्थाको वास्तविक विवरण संकलन गर्न समस्या परेको विभिन्न निकायहरूले गुनासो गरिरहेका छन्। टेलिफोनका टावर, अप्टिकल फाइबर र विद्युत् आपूर्तिमा क्षति पुगेकाले सेवा अवरुद्ध भएको जनाइएको छ।
स्थानीय प्रशासन र प्राविधिक टोलीले अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालनमा ल्याउनका लागि प्रयास गरिरहेका नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछाने बताए।
‘विद्युत सेवा अवरुद्ध भएको र केही हाम्रो पूर्वाधारहरूमा पनि क्षति भएको कारणले केही क्षेत्रमा समस्या छ। हामीले वैकल्पिक माध्यमबाट सञ्चालमा ल्याउनका लागि काम गरिहरका छ,’ लामिछानले भने, ‘हामीले अहिले पनि हाम्रो टिमसँग निरन्तर छलफलमा नै छौं।’