काठमाडौं। बजारमा मुद्रा आपूर्ति कम गर्न वाणिज्य बैंकहरुलाई सञ्चित विदेशी मुद्रा विदेशी सुरक्षणपत्रमा लगानीको सीमा बढाइने भएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशी मुद्रा सञ्चितिको ५० देखि ६० प्रतिशतसम्म विदेशी सुरक्षणपत्रमा लगानी गर्न दिन लागेको हो। यसले बैंकहरुको नाफामा टेवा पुग्नेछ।
अहिले वाणिज्य बैंकहरुले विदेशमा राखेको डलरको ४० प्रतिशतसम्म विदेशी सुरक्षणपत्रमा लगानी गर्न पाउने व्यवस्था छ। यस्तो सीमा बढाएर ५० देखि ६० प्रतिशतसम्म पुर्याउन लागेको राष्ट्र बैंकका एक अधिकृतले बताए।
उनका अनुसार विदेशी मुद्रा सञ्चितिको ५० देखि ६० प्रतिशतको रिक्स फ्री सुरक्षणपत्रमा लगानी गर्न दिन लागिएको हो।
‘ऋण लगानी सुस्त रहेको र बढ्दो रेमिटेन्सका कारण बजारमा पैसाको फ्लो बढिरहेको अवस्थामा बैंकहरुलाई उनीहरुसँग भएको सञ्चित विदेशी मुद्रा विदेशी सुरक्षणपत्रमा लगानी सीमा बढाउँदा लगानी अप्सन थप हुन्छ,’ ती अधिकृतले बिजमाण्डूसँग भने,’जसले गर्दा वाणिज्य बैंकहरुले सुरक्षणपपत्रमा लगानी गरेर राम्रो रिटर्न लिन सक्नेछन्।’
वाणिज्य बैंकहरुले अहिले ४ खर्ब २० अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति होल्ड गरेका छन्।
लगानी सीमा बढाउँदा बैंकहरुलाई विदेशी बैंकमा राखेको डलर ल्याएर राष्ट्र बैंकलाई बेच्नुपर्ने दबाब हुनेछैन। जसले बजारमा तरलताको फ्लो कम हुन्छ। अहिले बैंकिङ प्रणालीमा १५ खर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य रकम (तरलता) छ। रेमिटेन्स आप्रवाह निरन्तर बढेको र कर्जाको माग सुस्त रहेका कारण तरलता फालाफाल भएको हो।
गत आर्थिक वर्षको जेठसम्म कूल २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। अघिल्लो वर्ष सोही अवधिमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स आएको थियो। विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब पुगिसकेको छ। यसले साढे २२ महिनाको वस्तु आयात धान्न पुग्छ।
कर्जा अपेक्षाजनक रुपमा बढ्न नसकेर बढ्दो रेमिटेन्सले बजारमा तरलता बढिरहेका बेला बैंकहरुले आफ्नो सञ्चित विदेशी मुद्रालाई विदेशी सुरक्षणपत्रमा लगानी गर्न पाउँदा त्यसले बजारमा तरलताको प्रवाह कम गर्न सहयोग पुग्नेछ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ सञ्चित विदेशी मुद्राको सीमा बढाएर लगानी गर्न दिँदा त्यसले बैंकहरुलाई लगानीको स्पेस थप हुने बताउँछन्।
‘विदेशको कुनै बैंकमा १ अर्ब डलर छ भने अहिलेको व्यवस्था अनुसार त्यसको ४० प्रतिशत (४० करोड विदेशी सुरक्षण पत्रमा) लगानी गर्न पाइरहेकामा सीमा बढेपछि त्यसले केही राहत हुन्छ,’ उनले भने, ‘तर सबै बैंकले लगानी नगर्न पनि सक्छन्।’
अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण उनीहरुले अधिक तरलता राष्ट्र बैंकमा २.७५ प्रतिशत ब्याजदरमा पार्क गरिरहेका छन्।
विदेशी मुद्राको सञ्चिति बढाएर विदेशी सुरक्षणपत्रमा लगानी गर्न दिँदा बैंकहरुको आम्दानी बढ्ने अर्का एक सीइओले बताए।
‘अहिले तरलता राष्ट्र बैंकमा पार्क गर्दा २.७५ प्रतिशत आम्दानी हुन्छ। कर्जाको माग सुस्त छ,’ उनले भने, ‘डलरको सीमा बढाएर विदेशी सुरक्षणपत्रमा लगानी गर्न दिँदा रिटर्न बढी लिन सकिन्छ। जसले नाफा बढाउन सहयोग पुग्छ।’
वाणिज्य बैंकहरुले विदेशी सरकारी सुरक्षणपत्रमा ५ वर्ष र प्राइभेटका हकमा जोखिम मूल्यांकनका आधारमा २ वर्ष अवधिको सुरक्षणपत्रमा लगानी गर्न पाउँछन्।