काठमाडौं। धितोपत्र र बीमा ऐन अन्तर्गतको कसूरमा संलग्न रहेको आरोप लागेका चार जना फरार प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ।
सीआइबीले हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका पूर्वसंचालक सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वसञ्चालकद्वय अनुप मालाकार र सुनिता श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीहरुलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेस गरेको सीआइबीले जनाएको छ। गत जेठ २८ गते विवादास्पद व्यवसायी दीपक भट्टसँगै पौडेलविरुद्ध धितोपत्र र बीमा ऐन अन्तर्गतको कसूर तथा महर्जन, मालाकार र श्रेष्ठविरुद्ध बीमा ऐन अन्तर्गतको कसूरमा मुद्दा दायर भएको थियो।