काठमाडौं। सेयर किनबेचमा अब अटो इडीआईएस प्रणाली लागू गरिने भएको छ।
सेयर बिक्रीपछि कतिपय लगानीकर्ता इडीआईएस गर्न बिर्सिएर जरिवानामा पर्दै आएको पृष्ठभूमिमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अटो इडीआईएस प्रणाली लागू गराउन लागेको हो।
सेबोनले यसका लागि आवश्यक कानुनी तथा संरचनागत सुधार सम्बन्धमा सुझाव पेस गर्न सीडीएससी एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ।
‘कारोबार व्यवस्थापन प्रणाली र मेरी सेयरबीच एपीआई इन्टिग्रेसन गरी अटो इडीआईएस प्रणाली लागू गर्ने व्यवस्थाका लागि गर्नुपर्ने आवश्यक कानुनी तथा संरचनागत सुधारसहितको अध्ययन गरी पेस गर्ने,’ सेबोनले मंगलबार सीडीएससीलाई दिएको ५ बुँदे निर्देशनमा भनिएको छ।
सेबोनले सेयर कारोबारको टी प्लस टु अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयन गर्न पनि भनेको छ।
लगानीकर्तालाई पुस नोटिफिकेसन अन्तर्गत आइपीओ निष्कासन अलर्ट, आइपीओ आवेदन, बोनस/हकप्रद सेयर निष्कासन, लाभांश वितरण, सेटलमेन्ट, डिम्याट डेबिट तथा लकइन सम्बन्धी जानकारी तत्काल पठाउने व्यवस्था गर्न पनि सेबोनले सीडीएससीलाई निर्देशन दिएको छ।

सेबोनले नेपाल स्टक एक्सचेन्जलाई पनि १९ बुँदे निर्देशन दिएको छ। सेबोनले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)का सम्बन्धमा लगानीकर्ताको गुनासो आएपछि नेप्सेसँग उसले स्वीकृति दिएका प्रणालीको आइटी अडिट गराएर प्रतिवेदन मागेको छ।
‘धितोपत्र कारोबारमा ग्राहकले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)का सम्बन्धमा लगानीकर्ताको गुनासो प्राप्त भएकोले नेप्सेबाट स्वीकृति दिएका प्रणालीको आइटी अडिट गरी सो सम्बन्धी प्रतिवेदन पेस गर्ने,’ सेबोनको पत्रमा भनिएको छ।
कारोबार प्रणालीसँग जोडिएका सम्पूर्ण टीएमएसमा अर्को व्यवस्था नभएसम्मका लागि कृत्रिम बौद्धिकताका आधारमा कुनै प्रविधिको प्रयोग कारोबार प्रविष्ट भएको आदेशको पहिचान गरी रोक्ने व्यवस्था गर्न भनिएको छ।
आफ्टर मार्केट अर्डर प्रभावकारी रूपमा लागू गर्न, दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्ने व्यवस्था मिलाउन र
नेप्से सूचकांकलाई अल इक्विटी इण्डेक्सका रूपमा कायम राखी फ्री फ्लोट सेयरका आधारमा नयाँ सूचकांक विकास गरी बेन्चमार्क सूचकांकको रूपमा प्रयोग गर्ने व्यवस्थाका लागि तत्काल थाल्न सेबोनले नेप्सेलाई निर्देशन दिएको छ।
‘फ्री फ्लोट सेयरका आधारमा नयाँ सूचकांक विकास गरी बेन्चमार्क सूचकांकको रूपमा प्रयोग गरेर सोका आधारमा सर्किट ब्रेकरको नियम पुनरवलोकन गर्ने,’ पत्रमा भनिएको छ।
सर्किट ब्रेकरको नियम पुनरवलोकन गर्न पनि सेबोनले पत्र लेखेको छ।
सूचीकृत कम्पनीको दोस्रो बजारमा हुने कारोबारमा लागू भइरहेको दैनिक १५% सम्म हुने घट/बढ सम्बन्धी सर्किट ब्रेकर सम्बन्धी व्यवस्था पुनरवलोकन अवश्यक रहे नरहेको सम्बन्धमा अध्ययन सुझाव सहित एक हप्ताभित्र बोर्डमा पेस गर्ने,’ सेबोनको पत्रमा भनिएको छ।
सेबोनले संगठित संस्थाको सूचीकरण पश्चात पहिलो कारोबार मूल्य निर्धारण सम्बन्धी व्यवस्थालाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप बनाउन भनेको छ।