काठमाडौं । नेपालमा हिरोको नयाँ एक्स्ट्रीम २५० आर मोटरसाइकल सार्वजनिक भएको छ। नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा एक्स्ट्रीम २५० आर लन्च गरेको हो।
कम्पनीले नाडा अटो शोका लागि नेपाल भित्र्याएको एक्स्ट्रीम २५० आर नेपालमा हिरोको अहिलेसम्मकै ठूलो इन्जिन क्षमताको मोटरसाइकल हो। सीजी मोटर्सले यसलाई गत वर्षको नाडा अटो शोमा समेत प्रदर्शन गरेको थियो। तर, त्यतिबेला यसको बिक्री सुरु गरिएको थिएन।
नयाँ एक्स्ट्रीम २५० आर नेकेड स्पोर्टी डिजाइनमा तयार गरिएको छ। यसमा लो-स्लङ्ग हेडल्याम्प, सार्प एक्सटेन्सनसहितको स्कल्प्टेड फ्युल ट्याङ्क र अपस्वेप्ट टेल सेक्सन दिइएको छ।
मोटरसाइकलमा टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ, जसमा ब्लुटुथमार्फत स्मार्टफोन कनेक्ट गर्न सकिन्छ।यसबाट टर्न-बाइ-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, कल तथा एसएमएस अलर्ट नोटिफिकेसन लगायतका सुविधा प्रयोग गर्न सकिन्छ। यसका साथै भेहिकल डायग्नोस्टिक मनिटरिङ सिस्टम, ड्र्याग टाइमर, ल्याप टाइमर तथा फुल एलईडी लाइटिङ पनि दिइएको छ।
सस्पेन्सनतर्फ अगाडि अप-साइड-डाउन फोर्क र पछाडि ६-स्टेप प्रिलोड एड्जस्टेबल मोनोशक सेटअप दिइएको छ। मोटरसाइकलमा ट्युबलेस टायर, अलोय ह्वील तथा दुवै पांग्रामा डिस्क ब्रेक उपलब्ध छन्। सुरक्षाका लागि सिंगल-च्यानल स्विचेबल एबीएस दिइएको छ।
एक्स्ट्रीम २५० आरमा २५० सीसी क्षमताको लिक्विड-कुल्ड, डीओएचसी, फोर-भल्भ, फ्युल-इन्जेक्टेड इन्जिन दिइएको छ। उक्त इन्जिनले ९,२५० आरपीएममा अधिकतम ३० ब्रेकहर्स पावर तथा ७,२५० आरपीएममा २५ एनएम टर्क उत्पादन गर्छ।
इन्जिनलाई ६-स्पीड गियरबक्ससँग जोडिएको छ। यसमा स्लिपर तथा असिस्ट क्लचसमेत उपलब्ध छ। कम्पनीका अनुसार मोटरसाइकलले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ३.२५ सेकेन्डमा पूरा गर्न सक्छ।

साथै हिरो जुम १६० एड्भेन्चर स्कुटर पनि राखिएको छ। स्पोर्टी एड्भेन्चर र म्याक्सी डिजाइनमा तयार गरिएको जुम १६० मा १५६ सीसी क्षमताको लिक्विड-कुल्ड, फोर-भल्भ, सिंगल-सिलिन्डर, एसओएचसी, फ्युल-इन्जेक्टेड इन्जिन दिइएको छ। उक्त इन्जिनले ८,००० आरपीएममा अधिकतम १४.६ ब्रेकहर्स पावर तथा ६,५०० आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ।
स्कुटरमा हिरोको आई३एस साइलेन्ट टेक्नोलोजी, डुअल-चेम्बर एलईडी हेडलाइट, फुली डिजिटल ड्यासबोर्ड, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, स्मार्ट की तथा सीभीटी ट्रान्समिसन दिइएको छ।
यसका साथै डिस्क ब्रेक, एबीएस, चार्जिङ पोर्टलगायतका फिचर पनि उपलब्ध छन्। अगाडि टेलिस्कोपिक हाइड्रोलिक शक अब्जर्बर र पछाडि ट्विन शक अब्जर्बर सस्पेन्सन सेटअप दिइएको छ।
जुम १६० मा १४ इन्चको अलोय ह्वीलसँगै डुअल-पर्पस ट्युबलेस टायर प्रयोग गरिएको छ। स्कुटरमा रिमोट सिस्टमसहितको सिट, अग्लो विन्डसिल्ड तथा टुरिङ एसेसरिज सेटअपसमेत दिइएको छ।