BIZMANDU
www.bizmandu.com

नाडा अटो शोमा व्यवसायीबीच नयाँ गाडी सार्वजनिक गर्न प्रतिस्पर्धा, मूल्य २ करोड ३० लाखसम्म

२०८३ भदौ ९

नाडा अटो शोमा व्यवसायीबीच नयाँ गाडी सार्वजनिक गर्न प्रतिस्पर्धा, मूल्य २ करोड ३० लाखसम्म
नाडा अटो शोमा व्यवसायीबीच नयाँ गाडी सार्वजनिक गर्न प्रतिस्पर्धा, मूल्य २ करोड ३० लाखसम्म


काठमाडौं। अटो व्यवसायीहरुले नयाँ ब्राण्ड र मोडलका गाडी भित्र्याएका छन्। व्यवसायीहरुले नाडा अटो शोमार्फत नयाँ ब्राण्ड र मोडलका गाडी सार्वजनिक गरेका छन्।

Vigo
GBIME
Tata

चिनियाँ सवारी निर्माता डोङफेङको प्रिमियम विद्युतीय गाडी सेडान ईपाइ००७, विद्युतीय एसयूभी एमहिरो-१ र अवतार०७ नाडा अटो शोमा सार्वजनिक गरिएको छ। यी तीन वटै गाडी एमएडब्लू वृद्धि मोटर्सले भित्र्याएको हो।

विद्युतीय एसयूभी सेग्मेन्टमा शक्तिशाली र विलासी मोडलका रूपमा रहेको एमहिरो-१ लाई इलेक्ट्रिक हमर र मर्सिडिज-बेन्ज जी-क्लासलाई चुनौती दिने गरी तयार गरिएको छ। यसको मुख्य विशेषता अफरोड क्षमता, उच्च पावर र विलासी डिजाइन हो।

एमहिरो-१ मा चारवटा विद्युतीय मोटर प्रयोग गरिएको छ। यी मोटरले संयुक्तरूपमा ८०० किलोवाट अर्थात् १,०८८ एचपी पावर तथा १,४०० एनएम पीक टर्क उत्पादन गर्छन्।

करिब ३.५ टन तौल रहेको यो एसयूभीले ० देखि १०० किलोमिटर प्रति घण्टाको गति ४.२ सेकेन्डमै पूरा गर्ने कम्पनीको दाबी छ।

डोङफेङले एमहिरो-१ मा ६५.८ किलोवाट आवर क्षमताको ब्याट्री राखेको छ। यो ब्याट्रीले पूर्ण चार्जमा ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने डब्लूएलटीपी परीक्षणले देखाएको छ।

यसमा रेन्ज एक्सटेन्डेड भएकाले ८० लिटरको ट्यांक छ। एयर सस्पेन्सनयुक्त यो एसयूभीको ग्राउण्ड क्लियरेन्स २४० एमएम छ, जसलाई आवश्यकता अनुसार ३३० एमएमसम्म बढाउन सकिन्छ। यसले ९०० एमएम गहिराइसम्मको पानीसमेत पार गर्न सक्ने क्षमता राख्छ।

कठिन भूभागमा चलाउनका लागि एमहिरो-१ मा ड्राइभिङ मोडअन्तर्गत बालुवा, चट्टान, हिलो र पानीका लागि छुट्टाछुट्टै अफरोड मोड दिइएको छ।

डिजाइनमा पनि एमहिरो-१ लाई फरक देखाउने प्रयास गरिएको छ। ड्यासबोर्डमा ठूलो स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा ठूलो गोलाकार थ्री-स्पोक स्टेयरिङ ह्वील दिइएको छ।

यसको ढोका खोल्ने ह्यान्डलसमेत पेस्तोलको आकारबाट प्रेरित डिजाइनमा तयार गरिएको छ। नाडा अटो शोमा प्रदर्शनीका लागि राखिएको एमहिरो-१ को बिक्री भने तत्काल सुरु हुने छैन। नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू वृद्धि यो गाडी सन् २०२७ जनवरीदेखि बिक्री गर्ने तयारीमा छ।

डोङफेङको प्रिमियम विद्युतीय गाडी सेडान ईपाइ००७ मा ५६.८३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ। यसले एक पटकको पूर्ण चार्जमा सीएलटीसी परीक्षणअनुसार ५३० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

गाडीमा पछाडिको पांग्रामा शक्ति प्रवाह हुने आरडब्लूडी प्रणाली प्रयोग गरिएको छ। ईपाइ००७ मा १६० किलोवाटको मोटर जडान गरिएको छ। मोटरले अधिकतम ३१० एनएम टर्क उत्पादन गर्छ। यसले ० देखि १०० किलोमिटर प्रति घण्टाको गति ६.८ सेकेन्डमै लिन सक्ने कम्पनीको विवरणमा उल्लेख छ।

ईपाइ००७ को ५३० प्रो भेरियन्टमा ५६.८३ किलोवाट आवरको ब्याट्री र ५३० किलोमिटर सीएलटीसी रेन्ज उपलब्ध छ। गाडीको लम्बाइ ४ हजार ८८० मिलिमिटर र ह्विलबेस २ हजार ९१५ मिलिमिटर छ।

पाँच सिट क्षमताको सेडानमा अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र पछाडि मल्टिलिंक इन्डिपेन्डेन्ट सस्पेन्सन उपलब्ध छ।

गाडीमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। कम्पनीका अनुसार ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्छ। सुरक्षातर्फ गाडीमा अगाडि, साइड र कर्टेन एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटो होल्डलगायतका सुविधा उपलब्ध छन्।

त्यस्तै, गाडीमा विभिन्न उन्नत चालक सहायता प्रणाली (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम-एडीएएस) समेत उपलब्ध छन्।

यसमा अगाडि टक्करको चेतावनी, स्वचालित आपत्कालीन ब्रेकिङ, अनुकूलनशील क्रुज कन्ट्रोल, ट्राफिक जाम असिस्ट, लेन छाड्ने चेतावनी, लेन किपिङ असिस्ट, लेन सेन्टरिङ असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, लेन परिवर्तन गर्दा हुने टक्करको चेतावनी, ढोका खोल्दा हुने जोखिमको चेतावनी र पछाडिबाट क्रस ट्राफिक आउने चेतावनीलगायत सुविधा छन्।

इन्टेरियरतर्फ ईपाइ००७ मा १५.६ इन्चको केन्द्रीय डिस्प्ले र ८.८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ।

त्यस्तै, १९ वटा स्पिकर, बहुरंगी समायोजन गर्न मिल्ने एम्बियन्ट लाइट, वायरलेस मोबाइल चार्जिङ, चार-जोन क्लाइमेट कन्ट्रोल, एयर प्युरिफिकेसन प्रणाली र विद्युतीय रूपमा समायोजन गर्न मिल्ने सिटलगायत सुविधा छन्। यसको मूल्य ५९.९९ लाख राखिएको छ।

नाडा अटो शोमा सार्वजनिक गरिएको प्रिमियम एसयूभी अवतार०७ को इलेक्ट्रिक भेरियन्टमा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। यसले एकपटक फुल चार्जमा ६५० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ।

रियर ह्वील ड्राइभ भेरियन्टमा २५२ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ, जसले ३४३ पीएस पावर तथा ३६५ एनएम टर्क उत्पादन गर्छ।

पर्फमेन्सका हिसाबले अवतार०७ ले ० देखि १०० किलोमिटर प्रति घण्टाको गति ६.३ सेकेन्डमा पूरा गर्न सक्छ। यसको अधिकतम गति २०० किलोमिटर प्रति घण्टा छ।

डिजाइनतर्फ अवतार०७ लाई फ्युचरिस्टिक र प्रिमियम लुक दिइएको छ। यसमा डिस्क-वीङ फेस, एलईडी स्टार-टुर फ्रन्ट लाइट सिस्टम तथा आकर्षक कुपे-जस्ता एसयूभी डिजाइन छन्।

जर्मनीको म्युनिखस्थित ग्लोबल डिजाइन सेन्टरबाट डिजाइन गरिएको अवतार०७ को लम्बाइ ४,८२५ एमएम, चौडाइ १,९८० एमएम र उचाइ १,६२० एमएम छ। यसको ह्वीलबेस २,९४० एमएम छ। सस्पेन्सनतर्फ अगाडि डबल विसबोन र पछाडि इन्डिपेन्डेन्ट मल्टिलिंक सेटअप छ।

अवतार०७ मा ठूलो इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्टिभिटी, वायरलेस चार्जिङ तथा प्रिमियम इन्टेरियरलगायतका सुविधा उपलब्ध छन्।

सुरक्षातर्फ ९ वटा एयरब्याग, एडीएएस, ३६० डिग्री क्यामेरा, ड्राइभर मनिटरिङ सिस्टम तथा विभिन्न एड्भान्स सेफ्टी फिचर छ। एमएडब्लू वृद्धिले अवतार०७ को मूल्य २ करोड २० लाख र २ करोड ३० लाख रुपैयाँ तोकेको छ।

टाटाको सिएरा इभी नाडा अटो शोमा सार्वजनिक गरिएको छ। सिप्रदी ट्रेडिङले मंगलबार सुरु भएको नाडा अटो शोमा सार्वजनिक गरेको सिएरा इभीमा ७५ किलोवाट आवरको ब्याट्री छ। यसले ५३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

सिएरा इभीको रियर-ह्वील ड्राइभ भेरियन्टमा १७५ किलोवाट र अल-ह्वील ड्राइभ भेरियन्टमा २२५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसको अधिकतम टर्क ५०४ एनएम छ।

डिजाइनका हिसाबले सिएरा इभीमा अगाडि फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडल्याम्प, फ्लस-टाइप डोर ह्यान्डल तथा सिग्नेचर सिएरा रियर क्वार्टर ग्लास छ। यसमा १८ इन्चको अलोय ह्वील, रुफ स्पोइलर र शार्क-फिन एन्टेनासमेत उपलब्ध छन्।

अगाडि अल्ट्रा गाइड सस्पेन्सन र पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ। यसमा फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पिङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ।

टाटा मोटर्सले सिएरा इभीको इन्ट्री भेरियन्टमै भ्वाइस-असिस्टेड प्यानोरामिक सनरुफ उपलब्ध गराएको छ। उच्च ग्राउण्ड क्लियरेन्स, बक्सी डिजाइन र आकर्षक लुकमा तयार गरिएको यो एसयूभीको क्याबिन पनि फिचरले भरिएको छ।

एक्टी डट इभी प्लेटफर्ममा निर्माण गरिएको सिएराको क्याबिन डुअल-टोन थिममा तयार गरिएको छ। यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, ८-स्पीकर अडियो सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ-माउन्टेड कन्ट्रोल तथा किलेस इन्ट्रीजस्ता फिचर उपलब्ध छन्।

सिएरा इभीमा आईआरए डट इभी कनेक्टेड कार सुइट पनि दिइएको छ। यसमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर उपलब्ध छन्।

५जी कनेक्टिभिटीसहितको एसयूभीमा वायरलेस चार्जिङ तथा १५ वटा मल्टिमिडिया फिचरसमेत दिइएको छ। सिएरा इभीमा सुरक्षातर्फ पर्याप्त फिचर समावेश गरिएको छ। यसमा ६ वटा एयरब्याग तथा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामअन्तर्गत १९ वटा सुरक्षा फिचर उपलब्ध छन्।

सबै पांग्रामा डिस्क ब्रेक प्रयोग गरिएको छ। त्यस्तै, इन्ट्री भेरियन्टमै रियर पार्किङ सेन्सर तथा डाइनामिक गाइडलाइनसहितको रियर क्यामेरा उपलब्ध छ।

ओमोडा एण्ड जेको र स्कोडाका नयाँ गाडी तथा हिरो र यामाहाका नयाँ बाइक पनि सार्वजनिक गरिंदैछ। साउन २६ देखि ३१ गतेसम्म भएको नाइमा मोबिलिटी एक्स्पोमा पनि नयाँ ब्राण्ड र मोडलका सवारीसाधन सार्वजनिक गरिएको थियो।