काठमाडौं। ‘तटस्थ भूमिका’मा रहनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्रको झगडामा हात हालेका छन्। पौडेलले संवैधानिक संस्था शीतल निवासलाई कांग्रेसको झगडा मिलाउन प्रयास गर्ने थलोको रुपमा दुरुपयोग गरेका छन्।
६ वर्षअघि नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक कलहमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासको दुरुपयोग गरेकामा अहिले पौडेलले पनि निरन्तरता दिएका हुन्। भण्डारीले संवैधानिक गरिमा र भूमिका बिर्सिएर तत्कालीन नेकपाभित्रको विवाद मिलाउन नेताहरुलाई लाइन लगाएर भेटेकामा अहिले पौडेले पनि उनकै सिको गरेका छन्।
पार्टी सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीचको झगडा मिलाउन राष्ट्रपति पौडेल सक्रिय बनेका छन्। उनले कांग्रेसका करिब एक दर्जन नेतालाई पालैपालो शीतल निवास बोलाएर पार्टीलाई एकढिक्का बनाउन आग्रह गरेको स्रोतले बतायो।
स्रोतका अनुसार राष्ट्रपति पौडेलले कांग्रेस सभापति गगन, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई पालैपालो डाकेर पूर्वसभापति देउवा पक्षलाई मिलाउन दबाब दिएका छन्।
‘पार्टीभित्रको झगडा मिलाउन राष्ट्रपतिज्यूले पनि प्रयास गरिरहनुभएको छ। उहाँले सभापति उपसभापति लगायतलाई पालैपालो डाकेर असन्तुष्ट पक्षलाई मिलाउन भनिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले असन्तुष्ट पक्षका नेताहरुलाई पनि विभाजनको बाटोमा नजान भन्नुभएको छ।’
स्रोतका अनुसार कांग्रेलाई एक बनाउने प्रयासस्वरुप राष्ट्रपति पौडेलले संस्थापनइतरका नेताहरु प्रकाशमान सिंह, डा शेखर, डा शशांक कोइराला र डा प्रकाशशरण महतसँग पनि अलगअलग रुपमा कुरा गरेका छन्। पार्टीको झगडामा देउवा समूहमा रहेका रामहरि खतिवडासम्मलाई राष्ट्रपतिले शीतल निवास डाकेको स्रोतले बतायो।
राष्ट्रपति पौडेलको निम्तामा पछिल्लोपटक साउन १९ गते कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे शीतल निवास पुगेका थिए।
राष्ट्रपति पौडेलले पार्टीभित्रको झगडा मिलाउने नाममा देउवा समूहको पक्ष लिने गरेका छन्। उनले गगनलगायत संस्थापन पक्षका नेताहरुलाई अहिलेको अवस्थामा देउवालाई नै अगाडि सारेर एकताको महाधिवेशन गर्न सुझाएको एक नेताले बताए। ‘कांग्रेस एकताको एउटै आधार देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गर्नु हो। कांग्रेस जोगिने आधार यही हो,’ पौडेलको भनाई उद्धृत गर्दै ती नेताले भने।
गत पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट गगन सभापति बनेका थिए। गगनको नेतृत्वलाई निर्वाचन आयोगदेखि सर्वोच्च अदालतले वैधानिकता दिइसकेका छन्।
देउवा समूहकै विमलेन्द्र निधिदेखि प्रकाशशरण, डा. शेखर कोइराला लगायतले गगनको नेतृत्व स्वीकार गर्दै गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका थिए। त्यतिखेर गगनको हस्ताक्षरमा टिकट लिएका निधि, शेखर, प्रकाशशरण लगायतले अहिले भने कुनै संकोच नमानी विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका छन्।
राष्ट्रपति पौडेलले पनि देउवा समूहकै माग अनुसार अगाडि बढ्न गगन लगायत संस्थापन पक्षका नेताहरुलाई दबाब दिएका छन्। ‘नेतृत्वलाई एक स्टेप पछाडि हट्न लगाउनु भन्ने राष्ट्रपतिज्यूको कुरा छ,’ राष्ट्रपतिसँग भेटेका संस्थापन पक्षका एक नेताले भने।
राष्ट्रपति पौडेल आफ्नो पक्षमा उभिएपछि देउवा समूह थप उत्साहित भएको छ। राष्ट्रपतिसँगको कुराकानीकै आधारमा देउवा समूहले राष्ट्रिय भेला गरेर साउन ३१ गते पाँचबुँदे निर्णय गरेको नेताहरुले बताएका छन्।
सुकेधारा भेलाले पहिलो बुँदामै देउवाको नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। ‘१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औं महाधिवेशन सम्पन्न गरिनेछ र शेरबहादुर देउवाको सभापतित्वमा १५औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ,’ सम्मेलनबाट पारित प्रस्तावमा भनिएको छ।
राष्ट्रपति पौडेलले पार्टीको विवादमा पक्षधरता लिएकै कारण गगन लगायत संस्थापन पक्षका नेताहरुले देउवा समूहको माग अनुसार अगाडि बढ्न दिएको सुझावलाई बेवास्ता गर्दै आएका छन्।
‘सभापति गगन मात्र होइन उपसभापति र महामन्त्रीहरुलाई पनि राष्ट्रपतिज्यूको कुरा मन परेको छैन। निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिएको यथार्थलाई बेवास्ता गरी अर्को पक्षले भने अनुसार अगाडि बढ्नु भन्ने सुझाव स्वीकार गर्न सकिंदैन,’ संस्थापन पक्षका एक नेताले भने।
सभापति गगनले भेलाबाट पारित प्रस्तावलाई खारेज गरिसकेका छन्। ‘सुकेधारा भेलालाई सम्मान गर्छौं। तर, यो विधानको अंग बन्दैन। कुनै पनि भेलामा प्रस्तुत भएको विचार, प्रतिवेदन वा भेलाले गरेका निर्णय पार्टीको नीति वा विधानको अंग बन्दैन। त्यसैले पार्टीका निम्ति त्यो स्वीकार्य हुँदैन,’ गगनले सार्वजनिक रुपमै भनिसकेका छन्।
यता संस्थापन भने मंसिरसम्ममा जसरी पनि महाधिवेशन गराउने जोडमा छ। गगनले इतर पक्षको भेलालाई बेवास्ता गर्दै १५औं महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरिसकेका छन्। असोज १६ देखि १९ गतेसम्म काठमाडौंका लागि तय महाधिवेशन अन्तर्गत भदौ २४ बाट प्रक्रिया अगाडि बढाउने गरी तालिका ल्याइएको छ।
गगन गल्ने पक्षमा नदेखिएपछि पूर्वसभापति देउवाले उनलाई भेट दिन मानेका छैनन्। साढे ५ महिनापछि विदेशबाट फर्किएका देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा सभापतिकै हैसियतमा हाजिर हुन थालेका छन्। उनलाई उचालेर इतर समूहका नेताहरुले कांग्रेसको झगडा थप चर्काउन भूमिका निर्वाह गरिरहेका छन्।