काठमाडौं। शुक्रबार बिहान साढे ८ बजेतिर बुढानीलकण्ठस्थित ‘यात्री डिजाइन स्टुडियो’ पुग्दा असिम पाण्डे आफ्नो डेस्कमा एकाग्र थिए। प्लान्टभित्र कालो पर्दाले ढाकिएका ३/४ वटा स्कुटर थिए। ती स्कुटरलाई कपडाले छोपे पनि मोटरको कभरमा कोरिएको ‘क्राफ्टेड इन नेपाल’को ब्याजिङ स्पष्ट देखिन्थ्यो।
यी स्कुटर नेपाली सडकमा दौडिनका लागि अन्तिम तयारीमा छन्।
यात्रीका संस्थापक असिमले मुस्कुराउँदै एउटा स्कुटरबाट पर्दा हटाए। वर्षौंदेखिको मेहनतले आकार लिँदै गर्दा उनी सन्तुष्ट देखिन्थे। पर्दा हटेको स्कुटरमा उनले ‘पी टू’ लेखिएको स्टिकर टाँस्न थाले।
‘नाडा अटो शो’मा पहिलोपटक प्रदर्शन गर्न लागिएको नेपाली ब्रान्डको ‘पी टू’ देखाउँदै असिमले भने, ‘एकदमै खुसी लागेको छ। करिब नौ वर्षदेखिको अथक प्रयासको एउटा ‘फूल सर्कल’ जस्तो महसुस भइरहेको छ।’
यात्रीको फूल सर्कल यसै तयार भएको होइन। वर्तमानको सफलतामा विगतदेखिको मेहनतले रङ भरेको छ। त्यसैलाई उनले सम्झिए- हाम्रो यात्रा सुरुमा ‘रिसर्च भेहिकल प्लेटफर्म’बाट भएको थियो। त्यसपछि पहिलो प्रिमियम कमर्सियल प्लेटफर्मका रूपमा पी वान ल्यायौं। अहिलेको पी टू अझ बढी परिष्कृत, किफायती र मास मार्केटलाई लक्षित हो।
यात्रीको ‘डे वान’ देखिकै भिजन थियो- नेपाली बाटोका लागि नेपालीले नै सवारी बनाउने।
‘हामी यतिखेर निकै उत्साहित छौं। तर, यो त सुरुवात मात्रै हो,’ असिमले भने, ‘हामी आफैंभन्दा अगाडि बढेर ठूला दाबी गर्न चाहँदैनौं।’
झन्डै दशकको यात्रा, उत्पादन लक्ष्य ४० हजार
एउटा लोभलाग्दो उत्पादनलाई ‘अनभिलिङ’को अवस्थामा पुर्याउने लक्ष्य लिएका असिमलाई यहाँसम्मको यत्रा सहज थिएन।
‘केही बाह्य चुनौती थिए, केही आन्तरिक। त्यसमाथि मल्टिडिसिप्लिनरी र जटिल इन्जिनियरिङको चुनौती त छँदै थियो,’ असिम सम्झिन्छन्, ‘तर ती सबै चुनौतीसँग जुध्दै आज पी टू लिएर आउन पाउँदा निकै सन्तोष मिलेको छ। यो खुसी मेरो मात्र होइन, पहिलो दिनदेखि हामीलाई साथ दिने सम्पूर्ण टिम र सहयोगीहरूको पनि हो।’

यसअघि ल्याइएको ‘पी वान’ लिमिटेड एडिसन जस्तै थियो। ‘पी टू’ यात्रीको पहिलो ‘मास मार्केट’ स्कुटर हो। नेपालको दुई पाङ्ग्रे बजारमा सिप्रदी यात्री यसैमार्फत व्यापक पहुँच बनाउने दाउमा छ।
पी टू को व्यावसायिक उत्पादनका लागि धादिङको गजुरीमा छुट्टै ‘डेडिकेटेड म्यानुफ्याक्चरिङ प्लान्ट’ करिब करिब तयारी अवस्थामा छ।
‘प्लान्ट निर्माणको काम अन्तिम चरणमा छ। सेप्टेम्बरदेखि ‘पाइलट प्रोडक्सन’ सुरु गर्ने योजना छ,’ असिमले भने, ‘वार्षिक ३० देखि ४० हजार युनिट उत्पादन गर्न सक्ने क्षमतालाई ध्यानमा राखेर प्लान्ट तयार भइरहेको छ।’
उनका अनुसार सुरुका केही वर्ष बजारको प्रतिक्रिया हेरेर उत्पादन र थप विकासलाई अघि बढाइनेछ।
‘प्रोटोटाइप बनाउनु र आम उपभोक्ताका लागि ठूलो मात्रामा उत्पादन गर्नु बिलकुलै फरक इन्जिनियरिङ र सिकाइ प्रक्रिया रहेछ। हाम्रा लागि यो निकै रोचक अनुभव भइरहेको छ,’ उनले भने।

स्वदेशी स्टार्टअप ‘यात्री’ र कर्पोरेट जगतमा स्थापित ‘सिप्रदी’बीचको सहकार्यलाई असिम दुवै पक्षका लागि फलदायी मान्छन्।
‘एउटा व्यावसायिक कर्पोरेट हाउससँग काम गर्दा यात्रीले आफ्नो प्रक्रियालाई थप व्यवस्थित र ‘प्रोसेस ड्रिभन’ बनाउन सिक्यो,’ उनले भने, ‘अर्कातर्फ, सिप्रदीका लागि म्यानुफ्याक्चरिङतर्फ जाँदा प्रोडक्ट डेभलपमेन्ट, सोर्सिङ, सप्लाई चेन र लजिस्टिक्स बुझ्न यात्री एउटा दह्रो सहयात्री बन्यो।’
नेपाली सडकको नाडी छामेको प्रडक्ट
असिम भन्छन्, ‘हाम्रो यूएसपी भनेको उत्कृष्ट ‘युजर एक्सपिरियन्स’ र नेपालको भौगोलिक आवश्यकतालाई बुझेर शून्यबाट विकास गरिनु हो।’
कुनै लहडी योजनाले यो स्कुटर तयार भएको होइन। असिमका अनुसार देशभरको यात्रा र त्यहाँ टू ह्विलर चलाउनेसँग गरिएका अन्तर्वार्ता र ‘फोकस ग्रुप डिस्कसन’पछि यसको खाका कोरिएको हो। ‘पी वान’का प्रयोगकर्ताले अहिलेसम्म चलाएको करिब ३० लाख किलोमिटरको डेटा र अनुभवलाई ‘पी टू’को उत्पादनमा उपयोग गरिएको छ।
‘नेपालमा दुई पाङ्ग्रे सवारी केवल शहरभित्र गुड्न मात्र सीमित हुँदैन। यो त इन्टर सिटी यात्रा र स्वतन्त्रताको माध्यम पनि हो,’ असिमले सुनाए, ‘त्यसैले ब्याट्री क्षमता, रेन्ज र चार्जिङ स्पीड मुख्य कुरा हुन् हाम्रो सन्दर्भमा।’

असिमका अनुसार इलेक्ट्रिक स्कुटरमा मानिसहरूले सुरुमा टर्क र पावर हेर्छन्। खास परीक्षा चाहिँ ‘इन्ड्युरेन्स’मा हुने उनको तर्क छ। पछाडि सिटमा मान्छे राखेर लगातार उकालो चढ्दा वा लामो दूरीमा चलाउँदा सवारीले कस्तो प्रदर्शन गर्छ? महत्त्वपूर्ण हुन्छ।
‘हाम्रो डिजाइन र परीक्षणको मुख्य थलो नै नेपाली सडक हो। त्यसैले पावरट्रेन, ब्याट्री र चार्जिङ सिस्टमलाई नेपाली बाटो सुहाउँदो बनाएका छौं,’ असिमले दाबी गरे।
तीन ब्याट्री भेरियन्ट, २०० किलोमिटर रेन्ज
बजारमा आउँदा ‘पी टू’ तीनवटा ब्याट्री भेरियन्टमा उपलब्ध हुनेछ। ३ किलोवाट आवर, ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवर।
३ किलोवाटवाला मोडलले ९० किलोमिटरको दुरी तय गर्ने दाबी उनको छ। टप भेरियन्टले १६० किलोमिटरसम्म दिनेछ।
‘यो कुनै विदेशी प्रयोगशालाको ‘सर्टिफाइड रेन्ज’ होइन। हामीले काठमाडौं उपत्यका, रिङरोड, र विभिन्न इन्टर सिटी रुट समेटेर आफ्नै ‘यात्री ड्राइभ साइकल’मार्फत परीक्षण गरेका हौं,’ उनले थप व्याख्या गरे।
यी तीनवटै भेरियन्टमा अतिरिक्त सुविधा ५० किलोमिटर रेन्ज दिने ‘ब्याट्री प्याक एक्सटेन्डर’ अर्को विशेषता बन्दैछ। विकल्पका रुपमा लिइएको यो सुविधाले २०० किलोमिटरभन्दा माथिको रेन्ज दिन्छ। यद्यपि, इभीको रेन्ज सडकको अवस्था र चालकको शैलीले निर्धारण गरिरहेको हुन्छ।
यो स्कुटरमा थ्री पिनसकेटबाटै चार्ज गर्ने हो भने २ घन्टामा पूरै चार्ज हुन्छ। फास्ट चार्जरबाट ४० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ।
हालसम्म देशभरी यात्रीका ३५ भन्दा बढी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन्। पूर्वमा बिर्तामोड, धरान, इटहरीदेखि पश्चिमतर्फ पोखरा, बेनी हुँदै मुक्तिनाथसम्म यात्रीको चार्जिङ नेटवर्क पुगिसकेको छ।
मुक्तिनाथ दर्शन होस् या मुस्ताङको रोड ट्रिप, दुवै यसैबाट सकिने असिमको दाबी छ। यस्तै, रसुवाको धुन्चे, दोलखाको मुडे, चरिकोट, जिरी, कालिन्चोक, दक्षिणमा हेटौंडा, वीरगन्ज क्षेत्रमा पनि यसको नेटवर्क विस्तार भइसकेकाले यात्रामा संकोच मान्न नपर्ने उनले सुनाए।
समथर तराईदेखि हिमाली भेगसम्मै
‘पी टू’लाई नेपालका कठिन भूगोलमा परीक्षण गरिएको छ। यसको आरएन्डडी जहाँ छ त्यहाँबाट नजिकै छ कडा उकालो। त्यही बारम्बार परीक्षण भइसक्यो यो स्कुटर।

‘टोखा-झोर हुँदै ढिकुरे जाने २२ किलोमिटरको कठिन उकालो बाटो हाम्रो नियमित प्रोभिङ ग्राउन्ड हो,’ असिमले भने, ‘३५ डिग्रीसम्मको उकालोमा स्कुटरले लगातार कस्तो प्रदर्शन गर्छ भनेर हामीले सूक्ष्म अध्ययन गरेका छौं।’
कम्पनीका अनुसार ब्याट्रीको आयु जाँच्न वास्तविक सडकको डेटा प्रयोग गरी ८० हजार किलोमिटरसम्मको परीक्षण यहाँ रहेको मेसिनमा पूरा गरिएको छ।
च्यासिस, सस्पेन्सन, ह्विल, ब्रेक र समग्र भेहिकल डाइनामिक्सलाई नेपाली सडकका लागि तयार गरिएको असिमको भनाइ छ। यति मात्र होइन, ‘पी टू’का लागि आवश्यक पार्टपुर्जा विशेष रूपमा तयार पारिएका छन्। जस्तो कि टायर उत्पादकसँग मिलेर ‘पी टू’को तौल र नेपाली सडकको ग्रिप अनुसार ‘कम्पाउन्ड डिजाइन’ गरी ‘सिप्रदी यात्री’ ब्याजिङमै टायर बनाइएको छ।
असिमले थप उदाहरण दिए हेडलाइटको। ताइवानको टियर-१ कम्पनी र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा उच्च गतिको रात्रि यात्राका लागि ‘क्लास-डी’ स्तरको हेडलाइट विकास गरिएको छ।
यस्ता फिचरबारे व्याख्या गरिरहेका असिमलाई हामीले सोध्यौं- तपाइँ आफैंले चाहिँ यसमा कति यात्रा गर्नुभयो?
असिमले केही रूटबारे सुनाए। त्यसमा नारायणगढ-गैँडाकोटबाट कालीगण्डकी करिडोर हुँदै स्याङ्जासम्मको सन्दर्भ र सिन्धुली हुँदै कटारीसम्मको परीक्षण यात्रा समेटिएका रहेछन्।
बक्समा आउनेसँग चर्को प्रतिस्पर्धा
विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नु यात्रीका लागि सानो चुनौती होइन। किनकि मास प्रडक्सन गर्ने मुलुकका उत्पादनसँग नेपाली बाटोका लागि नेपाली माटोमा बनेको प्रडक्ट भन्दैमा काम गर्दैन।

‘विदेशका ठूला कम्पनीले हप्तामै हजारौं स्कुटर बनाउँछन्। उनीहरूसँग ‘इकोनोमी अफ स्केल’को फाइदा हुन्छ,’ असिमले भने, ‘धेरै देशमा स्थानीय उद्योग र उपभोक्ता दुवैलाई भारी सब्सिडी दिइन्छ।’
नेपालमा भने अवस्था ठ्याक्कै उल्टो छ। स्कुटर आयात गर्दा लाग्ने करभन्दा त्यसका पार्टपुर्जा वा ब्याट्री मात्रै आयात गर्दा बढी कर र भ्याट तिर्नुपर्छ।
‘ब्याट्री कुल लागतको ३५-४० प्रतिशत हुन्छ। तयारी सामानभन्दा कच्चा पदार्थमा बढी कर लाग्ने नीतिले स्वदेशी उत्पादनलाई गाह्रो बनाउँछ,’ असिमले भने, ‘स्थानीय उद्योग बचाउन सरकारले ‘लेभल प्लेइङ फिल्ड’ बनाइदिनुपर्छ।’
अहिलेका अर्थमन्त्री र सरकारका तर्फबाट स्थानीय उद्योग प्रवर्धनका लागि देखाएको सकारात्मक चासोले भने आशा जगाएको उनी बताउँछन्। केही अघि अर्थमन्त्री यही प्लान्टमा पुगेका थिए जहाँबाट हामीले यो स्टोरीलाई अगाडि बढाएका छौं।
सिप्रदी यात्रीको ‘पी टू’ परियोजनामा हाल १०० भन्दा बढी जनशक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यरत छन्। जसमध्ये ६० जना त ‘हार्डकोर भेहिकल इन्जिनियर’ मात्रै छन्।
उत्पादन सुरु भएपछि एक वर्षभित्रै रिसर्च एन्ड डेभलपमेन्ट र उत्पादन टिमको संख्या अझ विस्तार हुनेछ।
‘पी टू’ले सुस्त बनेको नेपाली इभी बजारमा नयाँ तरङ्ग ल्याउनेछ भन्नेमा हामी विश्वस्त छौं,’ असिमले भने। फोर ह्विलरको तुलनामा टू ह्विलरतर्फको विश्वसनीयतालाई यो प्रोडक्टले माथि लैजाने विश्वास उनको छ।
सडकमा कहिले, अनि मूल्य?
यात्रीले सिप्रदीको देशभर फैलिएको विशाल सञ्जाललाई ‘पी टू’को बिक्री, सर्भिस र चार्जिङ पूर्वाधारका लागि प्रयोग गर्नेछ। त्यसैले यसको विस्तारका लागि लामो समय लाग्दैन। सडकमा देखिने क्रम त्यसले एकैपटक विस्तार गर्नेछ। यसपालिको ‘नाडा अटो शो’मा हामीले हेरेको यो मोडल सार्वजनिक हुनेछ। तर मूल्य अहिले नै सार्वजनिक हुने छैन।

‘हामी सेप्टेम्बरमा छुट्टै भव्य कमर्सियल लन्च गर्दैछौं,’ असिमले मुस्कुराउँदै भने, ‘त्यहींबाट पी टू को प्रतिस्पर्धी मूल्य र थप व्यावसायिक विवरण सार्वजनिक हुनेछ।’