काठमाडौं। नबिल बैंकको सञ्चालक समिति बैठकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले नायब महाप्रबन्धक अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।
उनी ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रुपमा नबिल प्रवेश गरेका थिए। केही समयमै नायव महाप्रबन्धक बनेका अवस्थीले बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव हासिल गरिसकेका छन्।
उनी अपरेसन, जोखिम, ऋण शाखा व्यवस्थापनलगायतमा अब्बल मानिन्छन्। उनले सन् २००१ मा एनआइसी एशिया बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। त्यसपछि तीन वर्ष कुमारी बैंकमा शाखा प्रबन्धक भएर काम गरेका अवस्थी सन् २००८ मा ग्लोबल आइएमई बैंक पुगेका थिए।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अवस्थी हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ कोर्स गरेका छन्।