काठमाडौं। नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई बीमा लेखको बिक्रीमा गलत अभ्यास (मिस सेलिङ) रोक्न परिपत्र गरेको छ।
प्राधिकरणले कम्पनीलाई बीमालेखको बिक्री गर्दा रहेका गलत अभ्यास नियन्त्रणका लागि ७ बुँदे परिपत्र जारी गरेको हो।
कम्पनीले बीमा योजनालाई फिक्स्ड डिपोजिट प्लान, ब्याजदिने योजना, डबल मनि योजना, निश्चित लगानी प्रतिफल लगायतका निक्षेप योजनाको रुपमा प्रस्तुत गरेर बिक्री नगर्न भनेको छ।
बीमालेखका सर्त तथा प्राधिकरणबाट स्वीकृतभन्दा बाहिर गएर निश्चित बोनस, प्रतिफल, रकम वा लाभ प्राप्त हुने आश्वासन दिए कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ।
बीमा कम्पनीले स्वीकृत गरेको प्रचार सामग्री बाहेक अभिकर्ताले आफूखुसी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बीमा योजनाको प्रचारप्रसार गर्न पाउँदैनन्।
बीमा प्रस्ताव पेस गर्दा बीमा योजनालाई निक्षेप होइन भन्ने विषय स्पष्ट रूपमा बुझाउन प्राधिकरणले कम्पनीलाई भनेको छ।
बीमालेखको बिक्री गर्दा बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत तथा बीमा उद्देश्यलाई ध्यानमा राखी उपयुक्त बीमा योजना सिफारिस गर्न भनेको छ।
यस्तै, कम्पनीले बीमा अभिकर्ताको बिक्री सामग्रीको परीक्षण, ग्राहक गुनासोको विश्लेषण तथा सम्बोधन गर्ने र सामाजिक सञ्जालमार्फत गरेको बीमा प्रचाराप्रसारको नियमित अनुगमन गर्नुपर्नेछ।
प्राधिकरणले कम्पनीलाई मिस सेलिङको गुनासोका लागि अभिलेख राखेर त्रसासिक रुपमा विवरण पठाउन भनेको छ।