काठमाडौं। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। बडीमालिका समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा पर्छ।
जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो ।
सेवा सञ्चालनपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम डा तिमिल्सिनाले टावर स्थापनाका लागि बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरेको उनको सचिवालयले जनाएको छ।
उनले दुर्गम भूगोलमा रहेका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए।
बडिमालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउनका लागि नेपाल टेलिकमले एक महिनादेखि निरन्तर काम गरिरहेको थियो। सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल सञ्चार सेवा विस्तार गर्न गत साउन ८ गते टेलिकमलाई निर्देशन दिएका थिए।

टेलिकमले सडक सञ्जालबाट ढुवानी गर्न कठिन भएपछि उपकरण तथा निर्माण सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत लगेको थियो।