म्याग्दी। राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन परीक्षणको चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्धक रहेको ४० मेगावाटको आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो।
आयोजना अब विद्युत् उत्पादनको तयारीमा पुगेको हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। ‘बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको छ,’ उनले भने, ‘२० मेगावाटको एउटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को २० मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ।’
एक सातादेखि १० दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित तीव्र गतिकाब साथ काम भइरहेको जानकारी उनले दिए। रघुगंगा-४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ।
तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम सकेर जडान भएका उपकरणहरुको परीक्षण थालिएको हो। आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युतगृह परिसरमा निर्माण भएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ।
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न हुन लागेको हो।
कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए। भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो। भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपीसी) मोडलमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। आइभिआरसिएलसँग विसं २०६६ मा ठेक्का सम्झौता भएको थियो। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशविन्दु) मानिएको थियो।
‘राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेको छन्,’ उनले भने, ‘ढिलै भए पनि दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको खबरले हामीलाई उत्साहित बनाएको छ।’
पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो। यो आयोजनाले २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो। राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ। चार टावर र प्रसारण लाइन पनि बनिसकेको छ। रासस