काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगत ३५ वर्षमा भएका कमजोरीमा पुराना दललाई गाली गर्नुको साटो अब ३५ वर्षका लागि योजना ल्याउन पार्टीका नेताहरुसँग आग्रह गरेका छन्।
उनले पार्टीका केन्द्रीय सदस्यहरूका लागि आयोजित ‘नीति ,संगठन र नेतृत्व’ कार्यक्रमकाे आइतबार समापनका क्रममा रास्वपा अब अरुलाई दोष लगाएर उम्किन नपाउने बताए।
उनले देशलाई अबको ३५ वर्षमा कस्तो बनाउने? रास्वपाको सरकारबाट आमनागरिकले के पाउँदैछन्? अर्थतन्त्रले कस्तो आकार ग्रहण गर्दैछ? लगायत कुरामा ध्यान दिन आग्रह गरे।
‘हिजो हामीले दोष लगाउने कैयौं नेता थिए। जसलाई दोष लगाए पनि हुन्थ्यो। दोष नै दोषको चाङमा उभिएर हामि आफूलाई अग्लो देखाउन सक्थ्यौं। आज कसलाई दोष देखाउने? अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो। ३५ वर्षको योजना ल्याउनुस्। अबको ३५ वर्ष। बितेको ३५ वर्षका लागि उहाँहरुलाई कचकच गर्ने ठाउँमा अब हामी छैनौं। जति सके गरे, धन्यवाद,’ उनले भने, ‘अबको ३५ वर्ष कस्तो बनाउने? हाम्रै हातमा छ नि। शिक्षा र स्वास्थ्यको नीति के? हाम्रो नेतृत्वमा आमनागरिकले के पाउँदै छन्? हाम्रो विकास नीति के हो वैदेशिक नीति के हो? हाम्रो अर्थतन्त्रले कुन आकार ग्रहण गर्दैछ? हाम्रो ध्यान हाम्रो समय त्यहाँ जानुपर्छ।’
रविले जनताले चुनावमा गरेको विश्वासलाई कुनै हालतमा घात गर्न नहुने भन्दै सरकारलाई पार्टीले जिम्मेवार बनाउँदै लगेको बताए। उनले मन्त्रीहरु अनियमिततामा नमुछिनु सबैभन्दा महत्त्वपूर्ण कुरा भएको भन्दै जनताले चुनावमा भोटमार्फत व्यक्त गरेको आशालाई अब काममार्फत देखाउनुपर्ने बताए।

‘सुशासनको मुद्दा उठाएको रास्वपा सरकारले आज कुनै एक ठाउँमा अनियमितता गरेको प्रश्न उठेको छैन। यो सबैभन्दा ठूलो कुरा हो। आज हामीलाई कसैले भन्न सक्दैन, तिमीहरूले भ्रष्टाचार गर्यौ, तिमीहरूको यो काण्ड भयो, तिमीहरूले यहाँ अनियमितता गर्यौ भनेर एक जनाले पनि भन्न सकेका छैनन्। यो चिज हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘हाम्रो काम भनेको आम नागरिकले हामीलाई के भनेर भोट दिएका थिए? त्यो कुरा पूरा गर्ने। सरकारलाई पार्टीले जिम्मेवार बनाउँदै आएको छ अझ बढी।’
रविले बाटो बिराउने छुट नरहेको भन्दै राम्रो गर्न नसके नराम्रो नगर्न सांसदसँग आग्रह गरे। उनले काम गर्दा र अभिव्यक्ति दिंदा सचेत रहन पनि भनेका छन्।
‘आज तपाइँ हामीले बाटो बिरायौं भने युवाको नेतृत्व काम रहेनछ भन्ने सन्देश संसारभर जान्छ। हाम्री शीर झुक्छ। शीर झुकाउने काम गर्नु हुँदैन साथी हो। केही गर्न सकिंदैन भने पनि गलत नगर्न सकिन्छ। राम्रो केही गर्न सकिंदैन भने नराम्रो गर्न त सकिन्छ नि। कम्तीमा त्यति कमिटमेन्ट गर्नुपर्छ,’ उनले भने, ‘मेरा कारण तपाइँहरुको शीर झुक्दैन। अन्जानमा कुनै कमजोरी भए क्षमायाचना गर्छु। लडिएछ भने फेरि उडठेर दौडिने प्रतिबद्धता गर्छु। तपाइँहरुले पनि मेरा कारण पार्टीको शीर झुक्दैन भनेर प्रतिबद्धता गर्नुपर्छ। जानेर नजानेर हाम्रा कारण लोकतन्त्र कमजोर नहोस्। हाम्रा गतिविधि र अभिव्यक्तिले लोकतन्त्रलाई कमजोर पार्ने प्रयास नहोस्, यहाँहरुसमक्ष यो मेरो अनुरोध हो।’