इटहरी। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’को आयोजना गरेको छ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसाय विस्तारसँगै बीमितको हितलाई प्राथमिकता दिन आग्रह गरे। उनले अभिकर्तालाई जोखिम व्यवस्थापन र व्यावसायिक आचरणमा विशेष ध्यान दिन सुझाव दिए।
महर्जनले ग्राहकको आर्थिक अवस्था र आवश्यकतालाई बुझेर बीमा योजना छनोट गर्नुपर्ने बताए। ग्राहकको जोखिम मूल्याङ्कन गरेर मात्र उपयुक्त योजना प्रस्ताव गर्नुपर्ने उनको भनाइ थियो।
बीमा योजना बिक्री गर्दा त्यसका सुविधा र शर्तबारे स्पष्ट जानकारी दिनुपर्ने उनले बताए। बीमासँग जोडिएका जोखिम र दायित्वबारे पनि ग्राहकलाई बुझाउनुपर्ने उनको जोड थियो।
कार्यक्रममा बीमा क्षेत्रमा देखिएको ‘मिसेलिङ’ समस्या न्यूनीकरणमा अभिकर्ताको भूमिका महत्त्वपूर्ण रहेको बताइएको थियो। गलत, अपूर्ण वा भ्रामक सूचना दिएर बीमा बिक्री नगर्न महर्जनले आग्रह गरे।
उनले अभिकर्ता कम्पनीका प्रतिनिधि मात्र नभई कम्पनीको ब्रान्ड एम्बेसडरसमेत रहेको बताए। अभिकर्ताको व्यवहारले कम्पनीको प्रतिष्ठामा प्रभाव पार्ने उनको भनाइ थियो।
महर्जनले अभिकर्ता आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे। पेशागत मर्यादा, पारदर्शिता र जिम्मेवारीलाई व्यवहारमा उतार्नुपर्ने उनले बताए।
‘बीमा गराएपछि पनि अभिकर्ताको जिम्मेवारी सकिँदैन। बीमितलाई आवश्यक सेवा दिनुपर्ने हुन्छ। बीमालेखसम्बन्धी जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ। दाबी प्रक्रियामा समेत आवश्यक सहजीकरण गर्नुपर्ने हुन्छ,’ उनले भने।
कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका पदाधिकारी र विभिन्न तहका बीमा अभिकर्ताको सहभागिता थियो। कार्यक्रममा अभिकर्ताको उत्प्रेरणा र क्षमता अभिवृद्धिबारे छलफल गरिएको थियो।
बीमा व्यवसायलाई थप प्रभावकारी बनाउने उपायबारे पनि सहभागीबीच विचार आदानप्रदान भएको थियो। कार्यक्रममा अभिकर्तालाई पेशागत रूपमा अझ सक्षम र जिम्मेवार बनाउनुपर्नेमा जोड दिइएको थियो।