काठमाडौं। अध्ययनका लागि विद्यार्थी विदेशिने क्रम बढ्दा उनीहरूसँगै ठूलो रकम पनि बाहिरिएको छ। विद्यार्थीले पछिल्लो ३ वर्षमा आफूसँगै पौने ४ खर्ब रुपैयाँ लगेका छन्।
विदेशमा अध्ययन गर्न जान गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै १ लाख १४ हजार ३८४ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएका छन्। विदेश गएका विद्यार्थीले ११ महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँ लगेका छन्।
विद्यार्थीको पहिलो रोजाइमा अहिले जापान छ। गत वर्ष ११ महिनामा झन्डै ४० हजार विद्यार्थीले जापान जान एनओसी लिएका थिए।
जापानपछि अष्ट्रेलिया जान २१ हजार ९५९, बेलायत जान २० हजार १५१, कोरिया जान ११ हजार ४४३ र भारत जान ३ हजार ३३५ जनाले एनओसी लिएको तथ्यांक छ। उच्च शिक्षाका लागि विभिन्न ६६ देश जान विद्यार्थीले एनओसी लिएका थिए।
आर्थिक वर्ष २०७७/७८ मा २७ हजार २११ विद्यार्थीले एनओसी लिएकामा त्यसयता यो संख्या बर्सेनि बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा एनओसी लिनेको संख्या १ लाख ९ हजार ७६४ थियो।
आर्थिक वर्ष २०७८/७९ मा ९१ हजार २२१, २०७९/८० मा ९५ हजार ८३७ र २०८०/८१ मा १ लाख २ हजार २९५ विद्यार्थीले एनओसी लिएका थिए।
आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब १७ अर्ब रुपैयाँ र २०८१/८२ मा १ खर्ब २४ अर्ब रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको छ।
राष्ट्र बैंकका कर्मचारीका अनुसार विदेश अध्ययन गर्न जाने विद्यार्थीले कलेजको फि र अन्य खर्चका लागि विदेशी मुद्रा सटही गरेर लाने गरेका छन्।
‘विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दा त्यसले पैसा पनि बाहिरिरहेको छ। डलरको दरमा आएको वृद्धि पनि बाहिरिने रकम केही बढेको हो,’ ती कर्मचारीले भने।
जानकारहरू भने विद्यार्थीहरू विदेश अध्ययन गर्न जानुलाई राम्रो मान्छन्। विदेशमा अध्ययनले मानव पुँजी विकाससँगै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सकारात्मक प्रभाव पर्ने र मुलुकलाई फाइदा हुने उनीहरूको बुझाइ छ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले विद्यार्थी अध्ययनका लागि विदेश जाँदा बाहिरिने रकमको भोलुम मात्रै हेरेर विश्लेषण गर्न नहुने बताउँछन्।
उनका अनुसार विद्यार्थी अध्ययनका लागि विदेश जाँदा पैसा बाहिरिए पनि त्यसको तुलनामा रेमिटेन्समार्फत ठूलो रकम नेपाल भित्रिरहेको छ।
‘कुल रेमिटेन्सको तुलनामा विद्यार्थीले बाहिर लैजाने रकम ६/७ प्रतिशत मात्रै हो। रेमिटेन्स धेरै भित्रिरहेको छ। त्यसैले बाहिरिएको सानो रकमलाई मात्रै हेर्नु हुँदैन,’ श्रेष्ठले भने, ‘विद्यार्थी पढ्न जाँदा मानव पुँजीको विकास भएको छ। आजको विश्व ग्लोबल भिलेजमा परिणत भइरहेकाले मानिसको आवतजावतलाई स्वाभाविक रूपमा हेर्नुपर्छ।’
स्वदेशमा अध्ययनपछि उपयुक्त अवसर नपाउने स्थितिले विद्यार्थीहरू विदेशिने क्रम बढेको हो।
‘ग्लोबल कनेक्सन बढेपछि नेपालीले विश्वका अवसर लिन सक्छन्, प्रविधि र ज्ञान भित्र्याउन सक्छन्,’ श्रेष्ठले भने, ‘त्यसैले विदेश पठाउने कि नपठाउने भन्नेभन्दा पनि यहाँको शिक्षा र गुणस्तर कसरी राम्रो बनाउने भन्नेमा ध्यान दिनुपर्छ।’