काठमाडौं। भृकुटीमण्डपमा १८औँ नाडा अटो शोको तयारी तीव्ररुपमा भइरहेको छ। मंगलबार सुरु हुने प्रदर्शनीका लागि स्टल निर्माणको काम धमाधम भइरहेको छ।
प्रदर्शनीस्थलमा कामदारहरू बिहानदेखि खटिएका छन्। कोही संरचना बनाउँदै छन्। कोही सजावटमा व्यस्त छन् भने कोही सवारी साधन राख्ने ठाउँ मिलाउँदै छन्।
यसपटक २०० भन्दा बढी स्टल निर्माण गरिँदै छन्। ती स्टलमा नयाँ सवारी साधनदेखि विद्युतीय प्रविधिसम्म प्रदर्शन गरिनेछ।


नाडा अटो शोको मुख्य आकर्षणमध्ये जी१ ह्युमानोइड रोबोट र गो२ रोबोटिक डग पनि रहनेछन्।
यसपटकको गोल्डेन जुबिली संस्करणमा सवारी साधन र त्यससँग जोडिएको पूर्वाधारको चुनौतीलाई पनि प्रदर्शनीस्थलमा ल्याइदैछ।


बीवाइडी, लिपमोटर र गिलीजस्ता ब्रान्डका विद्युतीय सवारी प्रदर्शनमा रहनेछन्। एमजी र वुलिङका साना विद्युतीय सवारीले पनि स्थान पाउनेछन्।
दुईपांग्रेमा रिभोल्टका कनेक्टेड विद्युतीय मोटरसाइकलसँगै नेपालमै डिजाइन र एसेम्बल हुने यात्रीका मोटरसाइकल पनि देखिनेछन्।


चार्जिङ पूर्वाधारतर्फ जीआई चार्जर, एक्सिकोम, जेभपोइन्ट र एयरचार्जका प्रणाली प्रदर्शनमा रहनेछन्। एसी र डीसी दुवै प्रकारका चार्जिङ प्रविधि प्रदर्शनीमा देखाइने आयोजकले जनाएको छ।





