BIZMANDU
www.bizmandu.com

विद्युतमा मौसमी महसुल दर लागू गर्दै प्राधिकरण, मन्त्रीले उद्योगीसँग भने- धेरै खपत गर्नेलाई सहुलियत

२०८३ भदौ ७

विद्युतमा मौसमी महसुल दर लागू गर्दै प्राधिकरण, मन्त्रीले उद्योगीसँग भने- धेरै खपत गर्नेलाई सहुलियत
विद्युतमा मौसमी महसुल दर लागू गर्दै प्राधिकरण, मन्त्रीले उद्योगीसँग भने- धेरै खपत गर्नेलाई सहुलियत


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मौसमी विद्युत् महसुल दर लागू गर्ने तयारी गरिरहेको बताएका छन्। उनले वर्षायाममा उत्पादन हुने विद्युत खेर जान नदिनका लागि मौसमी महसुल दर लागू गर्ने तयारी गरिरहेको बताएका हुन्।

Vigo
GBIME
Tata

मन्त्री श्रेष्ठले आइतबार मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग विराटनगरमा भएको छलफलमा विद्युत धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गर्ने पनि बताए।

हालको महसुल दर विद्युत खपत गर्न निरुत्साहित गर्ने खालको छ। अहिले जति धेरै विद्युत खपत गर्‍यो महसुल दर उति नै बढी तिर्नुपर्छ।

मन्त्री श्रेष्ठले वर्षायाममा बढ्ने विद्युत् उत्पादनलाई उद्योग तथा अन्य क्षेत्रमा अधिकतम उपयोग गर्ने गरी महसुल संरचनामा सुधार गर्न लागेको बताएको उनको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठले सुनसरी-मोरङ क्षेत्रमा ९ वटा नयाँ सबस्टेसन थपिन लागेको भन्दै ती सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो हुने आश्वासन दिएका छन्।

छलफलमा सहभागी उद्योगी व्यवसायीले उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि विद्युत् आपूर्ति प्रणालीमा तत्काल सुधार गर्न मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए। विद्युत् महसुल घटाए उत्पादन लागत कम हुने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उनीहरूको भनाइ थियो।

उनीहरुले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्नका लागि डिमान्ड शुल्क हटाउन माग गरेका छन्। उद्योगीहरुले आफूहरू ५ देखि ५० मेगावाटसम्म विद्युत् खपत गर्न सक्ने गरी लगानी गर्न तयार रहेको भन्दै त्यसका लागि सरकारले पूर्वाधार सुनिश्चित गर्नुपर्ने बताए।

उद्योगीहरुले एक अर्बभन्दा बढी चुक्ता पुँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादनको अनुमति दिन पनि माग गरे। उनीहरुले विद्युतमा भ्याट हटाउन पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए।