काठमाडौं। नेपालगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन भएको छ। संघको अध्यक्षमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएका छन्। आइतबार सार्वजनिक मतपरिणामअनुसार ओली १ हजार ३८६ मतसहित विजयी भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरे।
ओली यसअघि संघमा वरिष्ठ उपाध्यक्ष थिए। संघको महिला उपाध्यक्षमा रूपा ओझा १ हजार १६६ मतसहित विजयी भइन्। उमा ग्राण्डनले ५०३ मतमा चित्त बुझाइन्।
महासचिवमा विष्णु श्रेष्ठ १ हजार २८७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरे।
उपमहासचिवमा प्रदीप आचार्य ८६४ मतसहित विजयी हुँदा प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत पाए। कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१७ मतका साथ विजयी भएका छन्। सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाइँले १८३ मत प्राप्त गरे।
कार्यसमिति सदस्यमा सन्तोषकुमार पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता विजयी भएका छन्। उपाध्यक्षमा उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए।