काठमाडौं। सवारीसाधन एसेम्बल प्लान्टले स्वदेशमै तयार भएका स्पेयर पार्ट्स प्रयोग गर्ने तयारी गरेका छन्। यसका लागि बजाज र रोयल इन्फिल्ड उत्पादक कम्पनीका प्रतिनिधिले स्पेयर पार्ट्स उद्योगको निरीक्षण समेत गरिसकेका छन्।
निरीक्षणका क्रममा उनीहरुले नेपालमा उत्पादित पार्ट्सको गुणस्तर र आफ्ना कम्पनीको मापदण्डअनुसार उत्पादन गर्न सक्ने क्षमताबारे जानकारी लिएका छन्।
स्थानीय एनिसिलरी उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने मान्यताका साथ गोल्छा समूहले सर्वो लुब्रिकेन्ट उद्योग स्थापना गरेर उत्पादन समेत सुरु गरिसकेको छ।
नाडाका उपाध्यक्ष विक्रम सिंघानियाका अनुसार एसेम्बल प्लान्ट रहेका दुईपाङ्ग्रे ब्रान्डका उत्पादक कम्पनीले स्वदेशमै तयार भएका पार्ट्स प्रयोग गर्ने विषयमा छलफलमा गरिरहेका छन्।
‘एसेम्बलसँगै म्यानुफ्याक्चरिङतर्फ लैजाने भन्ने विषयमा छलफल भइरहेको छ। लुब्रिकेन्ट, सिट, मिरर, लेगगार्ड, रबर पार्ट्सलगायतका धेरै सामग्री नेपालमै उत्पादन गर्न सकिन्छ,’ सिंघानियाले भने, ‘बजाज र रोयल इन्फिल्डका प्रतिनिधिले यस्ता फ्याक्ट्री मात्रै होइन, नेपालमा रहेका लोकल प्लान्ट पनि हेरेर गएका छन्।’
उनका अनुसार यामाहा र टीभीएससँग पनि स्थानीयकरणका विषयमा छलफल भइरहेको छ। उनले एसेम्बल प्लान्टले स्वदेशी अटो पार्ट्स उद्योगका लागि ठूलो बजार सिर्जना गर्ने बताए।
‘यसले हाम्रो बजार बढाउँछ। हाम्रो उत्पादन क्षमता पनि बढ्छ,’ सिंघानियाले भने, ‘भारतमा पनि उत्पादक कम्पनीले सबै पार्ट्स आफैं उत्पादन गर्दैनन्। आफूलाई आवश्यक पर्ने सामान स्थानीय फ्याक्ट्रीबाट लिने हो। त्यही प्रक्रिया नेपालमा पनि सुरु हुन लागेको हो।’
सिंघानियाका अनुसार भारतमा उत्पादन युनिट रहेका क्षेत्रमा अटो पार्ट्स उद्योगका लागि छुट्टै औद्योगिक करिडोर विकास गरिएको छ। नेपालले पनि अब एसेम्बल प्लान्टलाई आधार बनाएर त्यस्तै किसिमको पार्ट्स उत्पादन क्षेत्र विकास गर्नुपर्ने उनको भनाइ छ।
‘जहाँ एसेम्बल लाइन छन्, त्यहाँ अटो पार्ट्स प्लान्टका लागि पनि सरकारले करिडोर सोच्ने बेला आएको छ,’ उनले भने।
नेपाली पार्ट्स उद्योग तयार
नेपालमा अहिले दुई पाङ्ग्रे सवारीसाधनमा प्रयोग हुने विभिन्न पार्ट्स उत्पादन भइरहेका छन्। उत्पादक कम्पनीले तोकेको गुणस्तर र आवश्यक परिमाणमा उत्पादन गर्न सकिने अवस्था रहेको सिंघानिया बताउँछन्।
लुब्रिकेन्ट, सिट, लेगगार्ड, हेल्मेट, सिट कभर, रबर पार्ट्सलगायत विभिन्न सामग्री नेपालमै उत्पादन भइरहेका छन्। सिंघानियाका अनुसार अहिले दुई पाङ्ग्रे सवारीसाधनमा मासिक ओईएमबाहेक करिब ६० देखि ७० हजार टायर बिक्री हुने गरेका छन्।
तर, नेपालमा उत्पादन हुँदैमा सवारी उत्पादक कम्पनीले तत्कालै ती पार्ट्स प्रयोग गरिहाल्ने अवस्था भने नरहेको सिंघानिया बताउँछन्। उत्पादक कम्पनीको गुणस्तर मापदण्ड पूरा गर्नुपर्ने भएकाले स्थानीय पार्ट्सलाई उत्पादन प्रक्रियामा समावेश गर्न केही समय लाग्नेछ।
‘उत्पादक कम्पनीले लोकलाइजेसनमा जान ६ देखि ८ महिनासम्मको प्रक्रिया पूरा गरेपछि मात्रै सहज वातावरण बन्छ। अहिले बनिरहेको सामान लगेर उनीहरुले तत्काल प्रयोग गर्दैनन्,’ सिंघानियाले भने, ‘उनीहरुले आफ्नो सामानको गुणस्तरसरह भए मात्रै प्रयोग गर्छन्।’
उनले अरु देशमा पनि अटोमोबाइल उद्योग विकासको स्वाभाविक चरण नै आयातबाट एसेम्बल र त्यसपछि उत्पादनतर्फ जाने गरेको बताए। ‘कुनै पनि देशमा पहिला आयात हुन्छ, त्यसपछि एसेम्बल गरी म्यानुफ्याक्चरिङतर्फ जाने हो। प्रक्रिया यही नै हो,’ उनले भने।
सरकारले एसेम्बल उद्योगलाई स्थानीयकरणतर्फ लैजान दबाब दिइरहेका कारण ‘मेड इन नेपाल’ अटो पार्ट्सको बजार विस्तार हुने व्यवसायीहरुको अपेक्षा छ।
नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती पनि बजाज र रोयल इन्फिल्डसँग ब्याट्री प्रयोग गर्ने कुरामा छलफल भएको बताउँछन्। ‘कम्पनीहरुले हाम्रो उत्पादन लिने ग्यारेन्टी गरेमा लगानी गर्न हामी तयार छौं। लगानीको समस्या छैन। जुनसुकै पार्ट्स पनि हामी कम्पनीले भनेको गुणस्तरमा उत्पादन गरेर दिन सक्छौं,’ उप्रेतीले भने।
नाडाले आफ्नो अटो शोमा ‘मेड इन नेपाल’ उत्पादनलाई प्राथमिकता दिंदै आएको छ।