BIZMANDU
www.bizmandu.com

अण्डाको मूल्य हालसम्मकै उच्चः महिना दिनमै क्रेटमा ७५ रुपैयाँ वृद्धि, किन बढिरहेको छ भाउ?

२०८३ भदौ ६

अण्डाको मूल्य हालसम्मकै उच्चः महिना दिनमै क्रेटमा ७५ रुपैयाँ वृद्धि, किन बढिरहेको छ भाउ?
अण्डाको मूल्य हालसम्मकै उच्चः महिना दिनमै क्रेटमा ७५ रुपैयाँ वृद्धि, किन बढिरहेको छ भाउ?


काठमाडौं। अण्डाको भाउ एक महिनायता लगातार बढेर हालसम्मकै उच्च भएको छ। उत्पादन कम भएको कारण देखाएर अण्डाको भाउ लगातार बढाइएको हो। जसको भार उपभोक्तालाई परेको छ।

Vigo
GBIME
Tata

नेपाल लेयर्स कुखुरापालक संघले बर्डफ्लुको असरले चार महिनासम्म कुखुराको उत्पादन ठूलो संख्यामा घटेको असर अहिले अण्डाको मूल्यमा परेको बताएको छ।

संघका सचिव मदन पोखरेलले उत्पादन कम हुँदा अण्डाको मूल्य हालसम्मकै उच्च भएको बताए। ‘अण्डाको अहिलेको मूल्य हालसम्मकै उच्च हो। यसअघि अण्डाको मूल्य प्रति क्रेट ५७० भन्दा माथि पुगेको थिएन,’ उनले भने, ‘भाउ अझै माथि पुग्ने अनुमान छ।’

एक महिनामा क्रेटमै ७५ रुपैयाँ वृद्धि

अहिले बजारको माग अनुसार उत्पादन नभएकाले अण्डाको भाउ उकालो लागिरहेको हो।

एक महिनामा अण्डाको मूल्य प्रति क्रेटमा ७५ रुपैयाँ बढेको छ। गत साउन ६ गते प्रति क्रेट ५१५ रुपैयाँ रहेको एक्सएल अण्डाको भाउ भदौ ५ गते प्रति क्रेट ५९० रुपैयाँ पुगेको छ। यस्तै ठूलो अण्डाको भाउ प्रति क्रेट ७५ रुपैयाँ बढेर ५७५ रुपैयाँ पुगेको छ।

मिडियम अण्डाको मूल्य प्रति क्रेट ५० रुपैयाँ बढेर ५२० र सानो अण्डाको मूल्य प्रति क्रेट एक महिनामा ४४ रुपैयाँ बढेर ४५८ रुपैयाँ पुगेको छ।

संघका अनुसार बर्डफ्लु र गर्मीका कारण देशभर करिब १३ लाख लेयर्स कुखुरा नष्ट हुँदा त्यसको असर अण्डा उत्पादनमा परेको हो। हाल दैनिक २२ हजार कार्टुन अण्डा उत्पादन हुने गरेको छ। यसअघि सामान्य अवस्थामा दैनिक २८ हजार कार्टुन अण्डा उत्पादन हुने गरेको थियो।

‘बर्डफ्लु देखिएको फार्ममा ४ महिनासम्म नयाँ चल्ला हाल्न मिल्दैन। तर बर्खा सिजन सकिंदै गएको र चाडपर्व नजिंकिदै गएकाले अण्डाको माग भने बढिरहेको छ। अहिले हालेको चल्लाले करिब ६ महिनापछि मात्रै अण्डा उत्पादन गर्न सुरु गर्छ,’ संघका सचिव पोखरेलले भने।

उत्पादन कम भएका कारण उपभोक्ता मूल्य बढे पनि किसानले अझै लागत पाउन नसकेको संघको भनाइ छ। ‘उत्पादन खर्च नै धेरै रहेकाले किसानले आफ्नो लागत उठाउन अण्डाको मूल्य प्रति क्रेट ६३० रुपैयाँ पुग्नुपर्छ,’ पोखरेलले भने।

पछिल्लो समय लेयर्स कुखुराको चल्लाको उत्पादन बढेको छैन। संचालनमा रहेका ह्यारी घट्दै गएका छन्। नेपाल ह्याचरी उद्योग संघका महासचिव नवराज पौडेलले ह्याचरीमा प्यारेन्ट कुखुरा कम हुँदा चल्लाको उत्पादन घटेको भएको बताए।

‘ह्याचरी उद्योगहरुमा ८ महिनाअघि नै प्यारेन्ट कुखुरा समयमा नपाउँदा चल्ला उत्पादन घटेको थियो। अहिले बर्डफ्लुको असर पनि देखिएको हो,’ उनले भने ‘यसपटक भारतमा समेत चल्ला महँगो भएको छ जसले गर्दा व्यवसायीले चल्ला भित्र्याएका छैनन्।’

पौडेलका अनुसार गत असारसम्म माग नहुँदा चल्लाको भाउ प्रति गोटा २० रुपैयाँमा आइपुगेको थियो। साउनको सुरुमा बर्डफ्लु हटेपछि चल्लाको माग बढेर भाउ प्रति गोटा ७० रुपैयाँ पुगेको छ।

धेरै ह्याचरी उद्योग खर्च धान्न नसकेर बन्द भएका छन्। २ वर्षअघि ३५४ वटा ह्याचरी उद्योग संचालनमा रहेकामा अहिले त्यो संख्या ११० मा झरेको छ। त्यसमध्ये देशभर १०० वटा ह्याचरी उद्योगले प्यारेन्ट चल्ला हालेका छन्।