काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण दसैं सकिएको भोलिपल्टै सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो दुई संस्करणमा नाफा भएको रिपोर्ट सार्वजनिक गरेको थियो। तेस्रो संस्करणलाई पनि फाइदामा लग्ने लक्ष्यमा क्यान हुनेछ।
तर एनपीएल फाइदामा गएको तर्क गरिरहँदा यसका क्लबहरु भने निरन्तर घाटामा छन्। फ्रेन्चाइज अघि नै क्यानले यो ‘मनि बर्निङ’ बिजनेस भएकाले केही वर्ष नोक्सान हुने र त्यसपछिमात्र नाफामा जान सकिने बताएको थियो। फ्रेन्चाइजहरुले पनि त्यही कुरालाई दोहोर्याउँदै आएका छन्।
तेस्रो संस्करणमा क्लबहरुले धमाधम प्रायोजक र विदेशी खेलाडी भित्र्याइरहेका छन्। शुक्रबारमात्रै एकैदिन पोखरा एभेन्जर्सले तीन प्रायोजक भित्र्यायो। प्रायोजक भित्र्याउँदै पोखराका अध्यक्ष सुवोध त्रिपाठीले यसपाला ब्रेकइभनमा जाने लक्ष्य राखेको बताए।

यो सिजनमा ठूलो हिस्सा उठाउने छौँ!
पोखराका सीईओ त्रिपाठीले ब्राण्डहरुलाई लगानीको प्रभाव र प्रतिफल बुझाउन सके यसै संस्करणमा अधिकांश लगानी उठिसक्ने दाबी गरे।
‘यो क्रिकेट यात्रालाई अघि बढाउन केवल टिम मालिकहरूको प्रयास मात्र पर्याप्त हुँदैन, यसमा ब्रान्डहरूले पनि लगानी गर्नुपर्छ। हामीले ब्रान्डहरूलाई उनीहरूको लगानीको सकारात्मक प्रभाव र प्रतिफल बुझाउन सक्नुपर्छ,’ उनले भने, ‘हामी यो सिजनमै आफ्नो खर्चको ठूलो हिस्सा उठाउन सफल हुनेछौँ र चौथो सिजनसम्म पुग्दा पूर्ण ब्रेक-इभन हुने कुरामा हामी विश्वस्त छौँ।’
उनले क्लब बिड गर्दै सुरुका तीन सिजनहरू घाटाको व्यवसाय हुनेछन् भन्ने कुरा राम्ररी बुझेर नै लगानी गरेको बताए।
‘मैले स्पष्ट भनेको थिएँ कि हामी तीन सिजनसम्म घाटा बेहोर्न तयार छौँ र चौथो सिजनसम्म पुग्दा व्यावहारिक रूपमा ब्रेक-इभन हासिल गर्ने हाम्रो लक्ष्य छ।’

उनले बजारमा क्रिकेटको क्रेज र ब्रान्डहरूको साथ निकै उत्साहजनक रहेकाले केही टोलीले यसैवर्ष र अन्य टोलीले चौथो संस्करणसम्म ब्रेक इभनमा पुग्ने दाबी गरे।
‘४-५ वटा टोलीहरू त यसै वर्ष तयार हुने अवस्थामा छन् भने बाँकी टोलीहरू चौथो सिजनसम्ममा अवश्य नै ब्रेक-इभनमा पुग्नेछन्,’ उनले भने।
यस्तै दाबी लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले दोस्रो संस्करणका क्रममा गरेका थिए। ‘पहिलो सिजनमा कर्पोरेट जगतले क्रिकेटलाई ‘इन्टरटेन्मेन्ट’ मात्र ठाने पनि स्टेडियमको चौरमा भरिएका दर्शकको माया र सामाजिक सञ्जालमा भाइरल भएका दृश्यले कर्पोरेटको नजर एनपीएलमा गएको उनी बताउँछन्,’ उनले भनेका थिए।
फ्रेन्चाइज मोडलमा पैसा केही वर्ष हालिरहनु पर्ने बुझेरै आएको उनले पनि बताएका थिए।

‘सुरुका तीन-चार वर्ष मनि बर्निङ बिजनेसकै रूपमा लिन्छौं। पहिलो सिजनमा डेफिसिट थियो। अहिले कम भएको छ। अर्को वर्ष अझ कम हुन्छ। पाँच-सात वर्षपछि फाइदाको चरणमा पुग्छौं,’ उनले भनेका थिए, ‘टेन्डर हाल्दा नै तीन-चार वर्ष इन्भेस्ट गर्नुपर्छ भन्ने तयारी थियो।’
इनर्जी ड्रिङ्सले खायो एनपीएलको मार्केट!
यसपाला एनपीएलमा इनर्जी ड्रिंक्सले आक्रामक रुपमा लगानी गरेका छन्। खासगरी एक्सट्रिम इनर्जी ड्रिङ्क्सले विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, पोखरा एभेजर्स, जनकपुर बोल्ट्स र चितवन राइनोजको प्रायोजन गरेको छ। सुदूरपश्चिमको मुख्य प्रायोजक भने तीन वर्षका लागि अर्को इनर्जी ड्रिंक्स रेड बुल बन्यो।

यसअघि पहिलो संस्करणमा बैंक, अटोमोबाइल्स र टेलिकम्युनिकेसनका कम्पनीबीच प्रायोजनको होडबाजी चलेको थियो। दोस्रो संस्करणमा पनि यिनै कम्पनी प्रतिस्पर्धामा देखिए। तेस्रो संस्करणमा भने प्रचारप्रसारको होडमा इनर्जी ड्रिंक्सको प्रतिस्पर्धा हुने देखिन्छ। यसमा धेरैवटा टिमको एउटै प्रायोजक हुँदा स्वार्थ बाझिन्छ कि भन्ने चिन्ता भने बढाएको छ।
एनपीएलमा यसपाला फरक-फरक प्रायोजक
एनपीएलको यो संस्करणमा पुराना प्रायोजक हट्दै गएको र नयाँ प्रायोजक बजारमा आउन थालेको देखिएको छ।
शुक्रबार पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झौता भयो। यस्तै पोखरा एभेन्जर्सले शुक्रबारै मेडिकल पार्टनरको रुपमा माइक्रोलाइफसँग सम्झौता गर्दा लिगल पार्टनरको रुपमा सिनर्जी ल एण्ड च्याम्बर्ससँग हस्ताक्षर गर्यो। उक्त सम्झौता पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठी र सिनर्जी ल को तर्फबाट सहदेव खत्रीले हस्ताक्षर गरे।

नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ शाहले पछिल्लो समय नेपाली क्रिकेट टिमले टी२० विश्वकप खेलिसकेको र नेपाली क्रिकेटमा कर्पोरेटको चासो बढेको बताए।
सुदूरपश्चिम रोयल्सले नेस स्पोर्ट ग्लोबललाई आफ्नो रणनीतिक साझेदारका रूपमा घोषणा गरिसकेको छ। उसले सुबिसुलाई इन्टरनेट पार्टनर बनाएको छ।
यसपाला प्रायोजक भित्र्याउने क्रम भर्खरै सुरु भएको छ। पहिला जस्तै फरक-फरक कर्पोरेट वार एनपीएलमा देख्न पाइन्छ या इनर्जी ड्रिङ्सकै बोलबोला हुन्छ यो भने हेर्न बाँकी छ।