BIZMANDU
www.bizmandu.com

ऐतिहासिक पोखरीहरुको अतिक्रमण हटाउन जनकपुरमा चल्यो डोजर, सुरुमा सात पोखरीलाई लक्ष्य

२०८३ भदौ ६

ऐतिहासिक पोखरीहरुको अतिक्रमण हटाउन जनकपुरमा चल्यो डोजर, सुरुमा सात पोखरीलाई लक्ष्य
अतिक्रमित संरचना हटाइँदै जनकपुर, ६ भदौः जनकपुरधाम उपमहानगरपालिका-६, पेठिया बजार नजिक गोरधोइ पोदरी डिलमा अतिक्रमित गरी निर्माण गरिएको संरचना डोजरको सहायताले हटाइँदै। तस्बिरः चन्दन ठाकुर/रासस


जनकपुरधाम। जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले शनिबारदेखि डोजर चलाएको छ।

Vigo
GBIME
Tata

गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट अतिक्रमित संरचना हटाउन सुरु गरिएको हो। संस्थानले पटक–पटक सूचना जारी गर्दै संरचना आफैं हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो।

संस्थानले जनकपुरधामका सातवटा पोखरीको अतिक्रमणसम्बन्धी लगत संकलन गरी अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ। ती पोखरीमा गरिएको अतिक्रमणको विवरण संकलनका क्रममा कतिपय स्थानमा ठूलो मात्रामा र कतिपय स्थानमा सामान्य अतिक्रमण भएको पाइएको प्रमुख झाले बताए।

उनका अनुसार जनकपुरधाममा गुठी संस्थानअन्तर्गत ४९ वटा पोखरी छन्। पोखरी, मठमन्दिर तथा अन्य गुठीको अतिक्रमण हटाउन गुठी संस्थानका प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले काम गरिरहेको छ।

समितिले संकलन गरेको विवरणका आधारमा प्रतिवेदन तयार गरी संस्थानको केन्द्रीय कार्यालयमा बुझाइएको छ। प्रमुख झाका अनुसार जनकपुरधाममा गुठी संस्थानको करिब २२ देखि २५ बिघा अतिक्रमणमा परेको अनुमान छ।

रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा र बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अतिक्रमण भएको ठानिएको छ। रासस