मुम्बई। महात्मा गान्धीले आफ्ना निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी. हिंगोरानीका लागि लेखेका ६८८ वटा हस्तलिखित नोट मुम्बईमा १६ करोड २० लाख भारु (करिब १७ लाख अमेरिकी डलर) मा बिक्री भएका छन्। यो कुनै भारतीय ऐतिहासिक दस्तावेजको लिलामीमा प्राप्त अहिलेसम्मकै उच्च मूल्य हो।
मुम्बईस्थित लिलामी संस्था साफ्रोनआर्टले १८ र १९ अगस्टमा आयोजना गरेको ‘गान्धीः फ्रम द कलेक्सन अफ आनन्द टी. हिंगोरानी’ नामक लिलामीमा उक्त संग्रह बिक्री गरेको हो। संग्रहमा रहेका ६८८ हस्तलिखित प्रतिबिम्बलाई ‘अ थट फर द डे’ नाम दिइएको थियो। साफ्रोनआर्टका अनुसार यी नोट गान्धीले सन् १९४४ को नोभेम्बरदेखि १९४६ को अक्टोबरसम्म हिंगोरानीका लागि लेखेका थिए।
हिंगोरानीकी पत्नी विद्याको निधनपछि शोकमा रहेका उनलाई गान्धीले यी सन्देशमार्फत जीवन, दुःख र आत्मचिन्तनबारे मार्गदर्शन दिएका थिए। नोटहरूमा सत्य, अहिंसा, आत्मसंयम, ब्रह्मचर्य, अपरिग्रह र धार्मिक समानताजस्ता विषय समेटिएका छन्। ‘द प्रिन्ट’का अनुसार यी लेखोटले गान्धीको सार्वजनिक राजनीतिक व्यक्तित्वभन्दा बाहिर उनको व्यक्तिगत सोच र सम्बन्धको दुर्लभ झलक दिन्छ।
साफ्रोन आर्टले भनेको छ, ‘यो सङ्ग्रहलाई विशेष रूपमा आकर्षक बनाउने कुरा भारतको इतिहासका सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वलाई नजिकको व्यक्तिगत सम्बन्धको दृष्टिकोणबाट हेर्ने अवसर हो।’ संस्थाका सहसंस्थापक दिनेश वाजिरानीले यो बिक्रीले गान्धीको जीवन र विरासतप्रतिको स्थायी रुचि तथा प्राथमिक स्रोत सामग्रीको विशेष आकर्षण देखाएको बताएका छन्।
लिलामीमा गान्धीका हस्तलिखित नोट मात्र थिएनन्। कुल ८६ वटा सामग्री समावेश लिलामीमा पत्र, पाण्डुलिपि, तस्बिर तथा व्यक्तिगत सामग्री पनि थिए। गान्धीको पेटी चर्खा र धागो कात्ने आध्यात्मिक अनुशासनसम्बन्धी दुई पत्र १ करोड २ लाख भारुमा बिक्री भए। गान्धीले हस्ताक्षर गरेको एउटा तस्बिर ७८ लाख भारु तथा आर्थिक आत्मनिर्भरतासम्बन्धी पत्र, तार र पोस्टकार्डको समूह ५७ लाख ६० हजार भारुमा बिक्री भएको थियो।
साफ्रोनआर्टका अनुसार ‘अ थट फर द डे’का ६८८ लेखोटमध्ये प्रत्येकमा मिति र अधिकांशमा लेखिएको स्थानसमेत उल्लेख छ। मूल लेखोट हिन्दी भाषामा छन्। यी सामग्री हिंगोरानी परिवारले लामो समयदेखि संरक्षण गर्दै आएको थियो। (एजेन्सीहरु)