मनाङ। हिमाली जिल्ला मनाङको लाइफलाइन सडक चामे-बेँसीसहर सडक अवरुद्ध भएको छ। नासोँ गाउँपालिका-३ खोत्रो पाखामा सडक भासिएर उक्त खण्ड अवरुद्ध भएको हो।
सडक भासिदा पूर्ण रुपमा चामे-बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए।
‘वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिरोले अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन्।’
मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेहरूले कहिले लमजुङको पहिरो त कहिले मनाङको पहिरोका कारण सास्ती भोग्नु परेको स्थानीय देवेन्द्र गुरुङले बताए।
‘मनाङी त सधैँ सास्तीमा रहनुपर्ने बाध्यता छ,’ उनले भने।
क्षमताभन्दा धेरै भार भएका गाडीका कारण पनि यो सडक भासिएको हुनसक्ने स्थानीय पासाङ लामाले बताए। रासस