काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ भ्रमणमा जाँदा मन्त्रीहरु भने जिल्ला दौडाहामा निस्किएका छन्। प्रधानमन्त्री बालेन शुक्रबार बिहान सडक मार्ग हुँदै मुस्ताङतर्फ निस्किएकामा मन्त्रीहरु पनि विभिन्न जिल्लातर्फ लागेका हुन्।
शिक्षामन्त्री सस्मित पोखरेल शुक्रबार बिहान धनगढी पुगेका छन्। सस्मित संघीय शिक्षा ऐनको मस्यौदा तयार पार्नका लागि देशव्यापीरुपमा सुझाव संकलन गर्ने क्रममा ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन धनगढी गएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिंचाइका पूर्वाधारको निरीक्षण गर्न भन्दै शुक्रबार अपराह्न कोशी प्रदेशको भ्रमणमा निस्किएका छन्।
विराजभक्त मन्त्रालयकी सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, सिंचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठसहित विराटनगरतर्फ लागेका हुन्। टोलीमा उनका निजी सचिव सुदर्शन श्रेष्ठ र सचिवालय सदस्य देवेश बेल्बासे पनि छन्।
तीन दिने भ्रमणका क्रममा विराजभक्तको टोलीले इनरुवाको ४०० केभी भोक्राहा सबस्टेसन र केरौना सबस्टेसन, बराहक्षेत्र चतहरा नहर र चन्द्र नहरको निरीक्षण गर्ने तालिका रहेको उनको सचिवालयले जनाएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जान लागेकी छन्। प्रतिभा शनिबारदेखि केही दिनका लागि कञ्चनपुर, कैलालीलगायत जिल्लाको भ्रमणमा जाने उनको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा प्रतिभाले मन्त्रालयसँग सम्बन्धित जनगुनासो र सहकारीका समस्या सुन्ने तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग भेटघाट गर्ने कार्यक्रम छ।