काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको संस्थापनइतर समूहलाई अदालत जान छोडेर संवादका लागि पार्टी कार्यालय आउन अपिल गरेका छन्।
महाधिवेशन रोक्नका लागि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरु अदालत जान लागेपछि प्रदीपले शुक्रबार सामाजिक सञ्जालमार्फत इतर समूहलाई वार्ताका लागि अपिल गरेका हुन्। उनले पार्टीभित्रको विवादलाई अदालत अलान आग्रह गरेका छन्।
प्रदीपले पार्टीभित्रको विवाद अदालतले निरुपण गर्ने विषय नभएको भन्दै संवादबाट सहमतिमा पुग्न अपिल गरेका छन्।
‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन। मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनु हुँदैन। राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ,’ उनले भनेका छन्, ‘म सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु कि आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्। यो तपाइँ हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो। सानेपामा बसेर मनैदेखि संवाद गरौं।’
प्रदीपले पार्टीका आधारभूत मूल्य मान्यता नै संकटमा परेको भन्दै यस्तो बेला विभिन्न बहानामा विभाजित हुँदा लोकतन्त्र र देश नै कमजोर हुने र समयमै गल्ती सच्याउन नसके इतिहासले क्षमा नदिने बताएका छन्।
‘आगामी १५औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं। हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन,’ उनले भनेका छन्, ‘अरूलाई सही बाटो देखाउने जिम्मेवारी बोकेको यो ऐतिहासिक पार्टीलाई थप सशक्त बनाउन हामी सबैको एकता र सक्रियता अपरिहार्य छ। त्यसैले सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको सुन्दर भविष्यका लागि सँगै हिड्न विनाशर्त सानेपा आउन म हार्दिक अपिल गर्दछु।’