काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र दर्ता तथा निष्कासन नियमावलीको मस्यौदा तयार पारेको छ।
सेबोनले १ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका संगठित संस्थाले ऋणपत्र निष्कासन गर्न सक्ने व्यवस्थासहित ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३ को मस्यौदा बनाएर सुझाव मागेको हो।
बैंक वित्तीय संस्था, बीमा कम्पनी वा विशेष ऐन अन्तर्गत स्थापित संस्था बाहेक अन्य संगठित संस्थाले सुरक्षित ऋणपत्रमात्र निष्कासन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। संस्थाहरुले सेबोनको स्वीकृति लिएर परिपत्रमार्फत पनि ऋणपत्र निष्कासन गर्न सक्नेछन्।
कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएको व्यवस्था अनुसार ऋणपत्र निष्कासन गर्दै आएकामा सेबोनले ऋणपत्र निष्कासनका लागि छुट्टै नियमावली बनाउन लागेको हो।
ऋणपत्र बजारलाई थप विविधिकृत, प्रतिस्पर्धी तथा पारदर्शी बनाउन संस्थागत ऋणपत्र बजारको विकास गर्न नियमावली आवश्यक परेको सेबोनले जनाएको छ।
‘ऋणपत्रमार्फत बैंक तथा वित्तीय संस्था मात्र नभई योग्य अन्य संगठित संस्थाले समेत दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्न सक्ने गरी अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ऋणपत्रको दर्ता तथा निष्कासन सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी तथा प्रभावकारी एवं समयानुकूल बनाउन ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३ को मस्यौदा तयार गरिएको छ,’ सेबोनले भनेको छ।
मस्यौदामाथि सेबोनको कानून प्रवलीकरण समितिमा छलफल भइसकेको छ। सेबोनले ७ दिनभित्र सुझाव पेस गर्न भनेको छ। सुझाव पाएपछि नियमावलीको मस्यौदालाई अन्तिम रुपदिने सेबोनले जनाएको छ।