BIZMANDU
www.bizmandu.com

चाडपर्व नजिकिएपछि एलसी खोल्ने होड, ‘बजार राम्रैसँग चलायमान हुने देखिन्छ’

२०८३ भदौ ५

चाडपर्व नजिकिएपछि एलसी खोल्ने होड, ‘बजार राम्रैसँग चलायमान हुने देखिन्छ’
चाडपर्व नजिकिएपछि एलसी खोल्ने होड, ‘बजार राम्रैसँग चलायमान हुने देखिन्छ’


काठमाडौं। चाडपर्व नजिकिएसँगै खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य वस्तु आयातका लागि प्रतीत पत्र (एलसी) खोल्ने क्रम बढेको छ। बैंकहरूले साउन अन्तिम सातादेखि एलसी खोल्ने क्रम तीव्र भएको बताएका छन्।

Tata
GBIME

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालका अनुसार चाडपर्व लक्षित सामानका लागि एलसी खोल्ने क्रम निरन्तर बढिरहेको छ। उनले खाद्यान्न र लत्ताकपडासँगै मेसिनरी सामान र सवारीसाधनका लागि पनि एलसी खुल्न थालेको जानकारी दिए।

‘साउन अन्तिम सातायता एलसी खोल्ने क्रम निरन्तर बढिरहेको छ। अधिकांश एलसी चाडपर्व लक्षित खाद्यान्न र लत्ताकपडाको छ,’ उनले भने, ‘त्यसबाहेक मेसिनरी सामान र सवारी साधनको एलसी पनि खोल्न थालिएको छ।’

चाडपर्वका कारण आर्थिक वर्षको पहिलो त्रैमासमा उपभोग्य वस्तुको उच्च माग हुने गरेको छ। दसैं-तिहारमा विशेषगरी लत्ताकपडा र खाद्यान्नको खपत बढ्ने भएकाले व्यवसायीले धेरै आयात गर्छन्। बैंकरहरुका अनुसार एलसी खोल्ने क्रम अहिले पोहोरको तुलनामा दोब्बर हाराहारी छ।

बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले औद्योगिक कच्चा पदार्थदेखि मेसिनरी लगायतसम्म आयात गर्न एलसी खोल्ने क्रम बढेको बताए।

‘यसपालि एलसी खुल्ने क्रम बढेको देख्दा बजार राम्रैसँग चलायमान हुने देखिन्छ,’ कोइरालाले बिजमाण्डूसँग भने, ‘अहिले सबैखाले सरसामानको एलसी खुलिरहेको छ।’

खाद्यान्न र लत्ताकपडासँगै सवारीसाधनको बिक्री पनि दसैं-तिहारको समयमा बढ्छ। हालै नाइमा मोबिलिटी एक्स्पो सम्पन्न भयो भने नाडा अटो शो भदौ ९ गतेदेखि हुँदैछ। नाइमामा एक करोड मूल्यमाथिका प्रिमियम गाडी मात्र २०० हाराहारी बुकिङ भएका छन्।

अटो व्यवसायीले एक्स्पो लक्षित आफ्ना योजना र बैंकको न्यून ब्याजदरले सवारीसाधनको बिक्री बढ्ने विश्वास गरेका छन्। बैंकहरूले अहिले ५ देखि ६ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन्।

अधिकांश बैंकले बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम जोडेर अटो कर्जा दिइरहेका छन्। बैंकहरूको औसत बेसरेट नै अहिले ५ प्रतिशतभन्दा कम छ।

अटो कर्जा क्यास फ्लोका आधारमा दिने हुँदा बैंकहरुले कम जोखिमका आधारमा सस्तो ब्याजदरमा कर्जा दिइरहेका छन्। सस्तो ब्याजदर, नाइमा एक्स्पोमा भएको बुकिङ तथा नाडा अटो शोमा हुने मागलाई आधार मानेर विक्रेताहरूले दसैं-तिहारलाई लक्षित गरी गाडी भित्र्याउन एलसी खोलिरहेका हुन्।

ग्लोबल आइएमई बैंकका सीइओ सुरेन्द्र रेग्मीका अनुसार इलेक्ट्रोनिक उपकरण, औषधि, मेसिनरी र बिलेटका लागि पनि एलसी बढिरहेको छ। उनका अनुसार उपभोग्य सामग्रीसँगै निर्माण क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र मेसिनरी औजार आयात गर्न पनि एलसी खुल्ने क्रम बढेको छ।

गत आर्थिक वर्ष २० खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो। अघिल्लो आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएको तथ्यांक छ। पछिल्ला चार महिनायता मासिक २ खर्ब रुपैयाँभन्दा बढीको आयात भइरहेको छ।

दसैं-तिहारलाई लक्षित गरेर एलसी खोल्ने क्रम बढेकाले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ।

‘अघिल्ला वर्षजस्तै साउनको सुरुवातमा एलसी खोलेको देखिएन। तर, साउन अन्तिम सातायता बढ्न थालेको छ,’ राष्ट्र बैंकका एक अधिकृतले भने, ‘खासगरी खाद्यान्न र लत्ताकपडाका लागि एलसी खोलिएको छ। व्यापारीहरू गाडी भित्र्याउन पनि लागेका छन्। यसले बजारलाई चलायमान बनाउन सहयोग पुग्छ।’

राष्ट्र बैंकका अनुसार उपभोग्य वस्तुका लागि हरेक वर्ष पहिलो त्रैमासमा धेरै खर्च हुन्छ। एलसी खुल्ने क्रम बढेका कारण भदौमा आयात बढ्नेछ। आयात बढ्दा त्यसबाट सरकारी आम्दानीसमेत वृद्धि हुन्छ।

रेमिटेन्स वृद्धिका कारण राष्ट्र बैंकमा ३७ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चित छ। विदेशी विनिमयको सञ्चिति धेरै हुनुले अर्थतन्त्र ‘स्लो डाउन’ रहेको संकेत गर्छ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भने उपभोग्य वस्तुको आयात बढ्नुलाई मात्र अर्थतन्त्र सुधारको संकेतका रुपमा लिन नहुने बताउँछन्। उनका अनुसार उत्पादन र रोजगारी बढाउन सहयोग गर्ने वस्तुको आयात बढे मात्र त्यसले अर्थतन्त्रमा दिगो सुधार हुन्छ।

‘उपभोग्य वस्तुको आयात बढेर मात्रै हुँदैन। अर्थतन्त्रमा सुधारका लागि रोजगारी वृद्धिमा सहयोग पुग्ने सामग्रीको आयात बढ्नुपर्छ,’ उनले भने, ‘खाद्यान्न र लत्ताकपडाजस्ता उपभोग्य वस्तुभन्दा पनि उत्पादन बढाउन सहयोग गर्ने वस्तुको आयात वृद्धि अहिलेको आवश्यकता हो। त्यसैले अर्थतन्त्रमा सुधारका लागि नीतिगतरुपमै सम्बोधन गर्नुपर्छ।’