BIZMANDU
www.bizmandu.com

सांसदहरुलाई खाना/खाजा खुवाउने जिम्मेवारीमा सोल्टी होटल, दररेट र मेन्यु पुरानै

२०८३ भदौ ४

सांसदहरुलाई खाना/खाजा खुवाउने जिम्मेवारीमा सोल्टी होटल, दररेट र मेन्यु पुरानै
काठमाडौँ, २२ असारः प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस


काठमाडौं। सांसदहरुले खाना र खाजा खाने गरेको चमेना गृह (क्यान्टिन)को व्यवस्थापन परिवर्तन भएको छ।

Tata
GBIME

सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको क्यान्टिन सञ्चालनको जिम्मा एक वर्षअघि ल्याण्डमार्क होटलले पाएकामा अब उसको सट्टा सोल्टी होटलको इन्ट्री भएको हो।

क्यान्टिन सञ्चालनका लागि ल्याण्डमार्कले सचिवालयसँग गरेको सम्झौता असार अन्तिममा सकिएपछि सोल्टी होटलले क्यान्टिन सञ्चालन गर्न थालेको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले तत्कालका लागि सोल्टी होटललाई क्यान्टिन चलाउन जिम्मा दिएको बताए।

‘केही समय गर्नुस् भनेर भन्दा ल्याण्डमार्कले सक्दिन भन्यो। टेण्डरमा जाँदा ३/४ महिना लाग्ने भयो। तर, क्यान्टिन त चाहियो। त्यसैले तत्कालका लागि सोल्टीलाई दिएका हौं। फेरि टेण्डर खुल्छ,’ उनले भने।

गिरीका अनुसार सोल्टीले ल्याण्डमार्ककै दररेटमा पुरानै मेन्युअनुसार खाना/खाजा खुवाउने बताएको छ। प्रतिनिधि सभामा रहेका २७५ र राष्ट्रिय सभाका ५९ जना सांसदका साथै संसद् सचिवालयमा रहेका ४ सयभन्दा बढी कर्मचारीले संसद् सचिवालयको क्यान्टिनमा खाजा तथा खाना खाने गरेका छन्। तर, खाना खाजाको पैसा सांसद र कर्मचारी आफैंद्ये तिर्नुपर्छ।

दुवै सदन मातहतका समितिको बैठक चलिरहेका बेला क्यान्टिनबाटै चिया खाजाको व्यवस्था हुने गरेको छ। समितिको बैठक चलेका बेलाको खाजा खर्च भने संसद्‍ सचिवालयले बेहोर्छ।

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको सचिवालयमा पनि क्यान्टिनबाट खाजा र चिया सर्भ हुने गरेको छ।

महासचिव पद्म प्रसाद पाण्डेयका साथै सचिवहरुको सचिवालयमा पनि क्यान्टिनबाट चिया खाजा सर्भ गर्ने गरिएको छ। सभामुख र राष्ट्रिय सभा अध्यक्षले सचिवालयमै गर्ने भेटवार्तामा पनि क्यान्टिनबाटै चिया/खाजा सर्भ हुने गरेको छ।

अहिलेको नयाँ संसद् भवनमा भने क्यान्टिन सञ्चालन गरिएको छैन।