काठमाडौं। रोयल इन्फिल्डले नेपालमा लोकप्रिय आफ्नो क्लासिक ३५० बाइकको गोर्खा एडिसन सार्वजनिक गरेको छ। पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार एक समारोहबीच बाइक सार्वजनिक गरेका छन्।
नेपाल र गोर्खा पहिचानलाई जोडेर तयार पारिएको यो विशेष संस्करण नेपाली बजारका लागि मात्रै ल्याइएको कम्पनीले जनाएको छ। बाइकको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार नेपालमा हाल ७५ हजारभन्दा बढी रोयल इन्फिल्डका मोटरसाइकल सडकमा गुडिरहेका छन्। नेपालमा रोयल इन्फिल्डका करिब १०० वटा क्लब तथा १० हजारभन्दा बढी राइडर आबद्ध समुदायसमेत छन्।
सम्बन्धित सेग्मेन्टमा नेपालमा रोयल इन्फिल्डको बजार हिस्सा करिब ९१ प्रतिशत रहेको कम्पनीको दाबी छ। नेपालको पर्यटन क्षेत्रमा समेत रोयल इन्फिल्डको बलियो उपस्थिति छ।
पर्यटनका प्रमुख गन्तव्यमा मोटरसाइकल रेन्टल व्यवसाय विस्तार हुँदै जाँदा ५० भन्दा बढी रेन्टल व्यवसाय र ५ हजारभन्दा बढी रोयल इन्फिल्ड मोटरसाइकल यो इकोसिस्टममा सक्रिय रहेको कम्पनीले जनाएको छ।
गोर्खा सैनिकसँग रोयल इन्फिल्डको ऐतिहासिक सम्बन्धलाई समेत नयाँ संस्करणमा समेटिएको छ। कम्पनीका अनुसार डिजाइन तयार गर्ने क्रममा लोगोको प्लेसमेन्टदेखि मोटरसाइकलको लुक्स र अन्य सूक्ष्म विवरणमा विशेष ध्यान दिइएको थियो।

सुरुमा डिजाइनलाई लिएर केही प्रश्न उठे पनि आवश्यक परिमार्जनपछि अन्ततः नेपाली बजारका लागि क्लासिक ३५० गोर्खा एडिसन उत्पादन गरिएको हो।
कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियोमा ५० भन्दा बढी मोटरसाइकल मोडल समेटेको छ। विश्वभर सबैभन्दा लोकप्रिय तथा बिक्री हुने मोडलका रूपमा रहेको ‘क्लासिक’ सिरिजको सुरुवात सन् २००८ मा भएको थियो।
नेपाली सडक, गोर्खा सैनिकको इतिहास र रोयल इन्फिल्डको विरासतलाई गोर्खा एडिसनका नाममा एउटै मोटरसाइकलमा जोड्ने प्रयास गरेको कम्पनीले जनाएको छ।