काठमाडौं। चांगनको नयाँ विद्युतीय एसयूभी डिपल नेभो क्यू०५ नेपाली बजारमा इन्ट्री गरेको छ। नेभोको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले गाडी नेपाल भित्र्याएको हो।
कम्पनीले यो गाडी नाडा अटो शोमा राख्नेछ। यो गाडीलाई कम्पनीले आफ्नो सेग्मेन्टमा कम्फर्ट, प्रविधि र सुरक्षाका हिसाबले उच्चस्तरीय विद्युतीय एसयूभी भनेको छ।
कम्पनीले उपलब्ध गराएको विवरणअनुसार नेभो क्यू०५ मा १६२ किलोवाटको डीसी फास्ट चार्जिङ प्रविधि छ। ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमै चार्ज गर्न सकिने दाबी गरिएको छ। ५ मिनेट चार्ज गर्दा करिब १०० किलोमिटरसम्मको दूरी पार गर्न सकिने कम्पनीको दाबी छ।
गाडीमा ५१.९ किलोवाट आवर (युनिट)को क्याटल गोल्डेन सिल्ड २.० ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एक पटकको चार्जमा ४६२ किलोमिटर रेन्ज दिनेछ। गाडीमा १२० किलोवाट मोटर छ। यसले शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्न सक्छ।
नेभो क्यू०५ को मुख्य आकर्षण यसको २ हजार ७३५ मिलिमिटरको ह्विलबेस हो। कम्पनीका अनुसार यो आफ्नो सेग्मेन्टमै लामो ह्विलबेस हो।
यसमा ९९० मिलिमिटरको रियर लेगरुम, ५४० लिटरको डुअल लेभल बुट र १.८ वर्गमिटरको पानोरामिक ग्लास रुफ छ। अगाडिका सिटमा भेन्टिलेसन सुविधा छ भने पछाडिका सिटलाई दुई तहमा रिक्लाइन गर्न सकिने व्यवस्था गरिएको छ।
गाडीको केबिनमा करिब ८६.६ प्रतिशत स्पेस उपयोग गरिएको कम्पनीले जनाएको छ। इन्टेरियर ८० प्रतिशतसम्म सफ्ट-टच बनाइएको छ। बाहिरको आवाज कम गर्न ६७ भन्दा बढी साउन्ड इन्सुलेसन प्वाइन्ट राखिएको छ।

नेभो क्यू०५ मा १८ वटा एडीएएस फिचर उपलब्ध छन्। यसमा इमर्जेन्सी लेन किपिङ, ब्लाइन्ड स्पट डिटेक्सन, रियर क्रस-ट्राफिक ब्रेकिङ र सेफ एक्जिट असिस्टलगायत सुरक्षा प्रणाली छन्।
गाडीमा १४.६ इन्चको १०८०पी टचस्क्रिन र १०.१७ इन्चको डिजिटल क्लस्टर छ। वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ५० वाट वायरलेस चार्जिङ, बिल्ट-इन ड्यासक्याम र ५४० डिग्री क्यामेरा पनि उपलब्ध छन्।
त्यस्तै, ३.३ किलोवाटको भीटूएल सुविधामार्फत बाहिरी उपकरण संचालन गर्न सकिनेछ। मोबाइल एप कनेक्टिभिटी र ब्लुटुथ कीमार्फत फोनबाटै गाडी लक, अनलक तथा स्टार्ट गर्न सकिने सुविधा पनि छ। ओभर-द-एयर अपडेटमार्फत गाडीको सफ्टवेयरमा नयाँ फिचर तथा सुधार थप्न सकिनेछ।
यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएमको छ। गाडीको मूल्य यकिन गरिएको छैन। यसको मूल्य ५० लाख वरीपरी हुने अनुमान छ।
कम्पनीका अनुसार नेपाली बजारका लागि नेभो क्यू०५ मा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराइनेछ।