BIZMANDU
www.bizmandu.com

अख्तियारको नेतृत्वलाई रवि लामिछानेको ढाडस, ‘हामीबाट कुनै दबाब हुनेछैन’

२०८३ भदौ ४

अख्तियारको नेतृत्वलाई रवि लामिछानेको ढाडस, ‘हामीबाट कुनै दबाब हुनेछैन’
अख्तियारको नेतृत्वलाई रवि लामिछानेको ढाडस, ‘हामीबाट कुनै दबाब हुनेछैन’


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई ढाडस दिने प्रयास गरेका छन्।

Tata
GBIME

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा अधिकांश सांसदले विभिन्न प्रकरणलाई लिएर अख्तियारका पदाधिकारीमाथि अनेक प्रश्न उठाएकामा रविले भने ढाडस दिने प्रयास गरेका हुन्।

उनले तथ्य र प्रमाणविना अख्तियारका पदाधिकारीमाथि ठूलो स्वर गरेर प्रश्न उठाउँदा समितिको गरिमा नरहने ख्याल गर्न सांसदहरुसँग आग्रह गरे।

रविले अदालत र अख्तियारलाई लोकतन्त्रका आधारशीला भन्दै ती संस्थामा पार्टीकरण भएको आरोप लगाउँदा संस्थाहरु थप कमजोर हुने बताए।

‘तथ्यहरू राख्दा सम्मानको ख्याल गर्नु पर्ने हुन्छ। आवाज ठूलो हुँदैमा ठूलो हुने होइन। हामीले समितिमा राखेका विषय कतै च्यालेन्ज हुन सकेन भने समितिको गरिमा पनि रहँदैन,’ उनले भने, ‘अहिले अदालत पनि पार्टीकै हो, अख्तियार पनि पार्टीकै हो भन्ने कुरा आरोप लगाउनु हुन्न। लोकतन्त्रका आधारशिलालाई ढाल्न खोज्यौं भने ती कमजोर हुन्छन्। एउटा समयमा ती जिरोमा जान्छन्। कसैले कसैको विश्वास नहुने समाजको परिकल्पना हामीले गरेका होइनौं।’

उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भएपछि अख्तियारमा एक जनालाई पनि नियुक्त नगरेको भन्दै विस्तारै मेरिटका आधारमा नियुक्ति दिने व्यवस्था गर्नुपर्ने बताए।

रविले अख्तियारमाथि धेरै प्रश्न गर्नुभन्दा उसलाई प्रभावकारी बनाउनका लागि सरकार र संसद्‍ले सहयोग गर्नुपर्नेमा जोड दिए। उनले नीतिगत निर्णयबारे पनि कानुनमा स्पष्ट व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

‘आयोगले आफूलाई फङ्सनल बनाउन उसले के मागेको छ भन्नेमा हामीले खासै छलफल गरेनौं। उहाँहरुलाई काम गर्न सक्ने कानुन बनाएर दिन सकेनौं भने उहाँहरूले काम गर्न सक्नुहुन्न,’ उनले भने, ‘उहाँहरुले नीतिगत निर्णय भनेको के हो प्रस्ट पार्नुपर्छ भन्नु भएको छ। यो हामीले तय गर्नुपर्छ। नीतिगत निर्णय पनि हुनुपर्छ। नभए कुन प्रधानमन्त्रीले काम गर्न सक्छ?’

रविले सरकारका तर्फबाट कुनै किसिमको दबाब दिइएको भए अख्तियारले आफ्नो तर्फबाट काम गर्न सक्ने बताए। ‘हाम्रो पार्टीको सरकारबाट कुनै दबाब भएको छ भने तपाइँहरू आफ्नो तर्फबाट काम गर्न सक्नु हुन्छ,’ उनले भने, ‘अख्तियार सरकारको छायाँ हुनु हुँदैन। हामीबाट कुनै दबाब हुनेछैन। अहिले हामी आएपछि अख्तियारमा कुनै नियुक्ति भएको छैन।’

उनले निजी क्षेत्रमा हुने भ्रष्टाचार अख्तियारले हेर्न नहुने बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला निजी क्षेत्रमा हुने भ्रष्टाचार अख्तियारले हेर्ने गरी संसद्‍मा विधेयक लगिएकामा रविले निजी क्षेत्रलाई त्रसित बनाउने काम गर्न नहुने बताए।

‘निजी क्षेत्रको भ्रष्टाचार पनि एउटै निकायले हेर्ने भन्ने हुँदैन। फेरि अख्तियारले पनि हेर्‍यो भने निजी क्षेत्र त्रसित हुन्छ,’ उनले भने।

रविले मुद्दा दायर गर्नुअघि राम्रोसँग अनुसन्धान गर्न अख्तियारको ध्यानाकर्षण समेत गराए। ‘अख्तियारको सक्सेस कम छ। मुख्यसचिवसम्मलाई मुद्दा दायर गरिएको छ। मुद्दापछि निलम्बन हुन्छ। यसपछि उसको व्यक्तिगत जीवन कहाँ जाला?,’ उनले भने।