BIZMANDU
www.bizmandu.com

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

२०८३ भदौ ४

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य
हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य


काठमाडौं। कुमारी बैंकले हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग सहकार्य गरेको छ।

Tata
GBIME

दिगो विकासलाई प्रवर्धन गर्ने प्रतिबद्धतालाई थप सुदृढ गर्दै हेल्भेटास नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्त्वपूर्ण मूल्य शृङ्खला साझेदारहरूको वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउनु हो।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले औपचारिक रूपमा हस्ताक्षर गरेका छन्।

यस सहकार्यले समावेशी आर्थिक विकास, उद्यम प्रवर्धन तथा मूल्य शृङ्खला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोडेको छ। दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य शृङ्खला वित्तीयकरणलाई प्राथमिकतामा राख्ने बताइएको छ।

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमका विकासका लागि प्रयत्नरत व्यवसाय तथा उद्यमीहरूलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्दै महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

उनका अनुसार यो सहकार्यले हरित तथा जलवायु-उत्थानशील नेपाल निर्माणमा योगदान पुर्‍याउँदै व्यवसायीहरूको वित्तीय पहुँचलाई दिगो बनाउनेछ।

बैंकका अनुसार यस सहकार्यले वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालाबीच थप प्रभावकारी सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ। वित्तीय पहुँच विस्तारसँगै उद्यमहरूले प्राप्त वित्तीय स्रोतलाई प्रभावकारी रूपमा परिचालन र व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा समेत जोड दिइनेछ।

यस एकीकृत दृष्टिकोणमार्फत समावेशी, दिगो तथा उत्थानशील उद्यम विकासलाई प्रोत्साहन गर्दै नेपालको हरित अर्थतन्त्रको विस्तारमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।