BIZMANDU
www.bizmandu.com

नेपालसहित ४ देशले गरे पूर्वआगमन सूचना आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२०८३ भदौ ४

नेपालसहित ४ देशले गरे पूर्वआगमन सूचना आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
नेपालसहित ४ देशले गरे पूर्वआगमन सूचना आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं। नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच पूर्वआगमन सूचना आदानप्रदानसम्बन्धी समझदारी भएको छ।

Tata
GBIME

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत ४ देशबीच यस्तो समझदारी भएको हो।

माल्दिभ्समा आयोजित सासेकको १४औँ कस्टम्स सबग्रुप बैठकका क्रममा बुधबार समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भूसालले हस्ताक्षर गरेका छन्।

समझदारीको मुख्य उद्देश्य वस्तुहरू भन्सार कार्यालयमा आइपुग्नुअघि नै आवश्यक सूचना आदानप्रदान गर्नु हो। यसले भन्सार प्रशासनलाई समयमै सूचना प्राप्त गर्न सहयोग पुग्नेछ।

प्राप्त सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न सकिनेछ। यसबाट भन्सार नियन्त्रण पनि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

पूर्वआगमन सूचना उपलब्ध भएपछि मालवस्तुको जाँचपास प्रक्रिया थप सहज र छिटो बनाउन सकिनेछ। यसले व्यापारमा लाग्ने समय घटाउनेछ।

त्यस्तै, व्यापारिक लागत पनि कम हुने अपेक्षा गरिएको छ। आयात/निर्यात प्रक्रिया थप पारदर्शी र पूर्वानुमानयोग्य बन्ने विश्वास गरिएको छ।

४ देशबीचको यो सहकार्यले क्षेत्रीय व्यापार सहजीकरणमा थप योगदान पुर्‍याउने भन्सार विभागको अपेक्षा छ। यसबाट वैदेशिक व्यापारलाई थप सरल र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

समझदारीपत्रमा ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग देशका भन्सार प्रशासनबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणका लागि वस्तुको पूर्वआगमन सूचना आदानप्रदानमा सहकार्य’ सम्बन्धी व्यवस्था समेटिएको छ।

भन्सार विभागका अनुसार यस्तो सूचना आदानप्रदानले व्यापार सहजीकरणसँगै भन्सारको निगरानी र नियन्त्रण प्रणालीलाई पनि बलियो बनाउनेछ।