काठमाडौं। दसैं-तिहार नजिकिनु भनेको बजारका लागि वर्षको सबैभन्दा ठूलो ‘बिक्री सिजन’ सुरु हुनु हो। व्यापारीहरूले असार-साउनबाटै मालसामान मगाउन थाल्छन्। उद्यमीहरूले उत्पादन बढाउन सुरु गर्छन्। भदौसम्म पुग्दा खुद्रा बिक्रेताकहाँ सबै सामानहरू पुगिसकेको हुन्छ।
बैंकबाट कर्जा बढ्छ, आयात उक्लिन थाल्छ, बजारमा भिड थामिनसक्नु हुन्छ। वर्षको ११ महिना अड्कलेर खर्च गर्ने उपभोक्ता दसैंतिहारको मुखमा मन फुकाएर खर्चिन्छन्। घर-गाडी जोड्नेदेखि समग्र उपभोग नै ह्वात्तै बढेर जान्छ।
यही कारण दसैं-तिहारमा हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई वर्षभरी पुग्नेगरी धक्का दिन्छ। आर्थिक कारोबार चलायमान हुन्छ। सरकारको पनि राजस्वदेखि साधारण खर्चसम्म वृद्धि भएर जान्छ।
तर, पछिल्ला केही दसैं-तिहारले बजारलाई निराश बनाएर गएको छ। चाडबाडको मुखैमा विगतमा भएका विभिन्न घटनाहरूले अर्थतन्त्रलाई उकास्ने भन्दा अनिश्चितता बढाएर मन्दीतर्फ धकेल्ने गरेको अनुभव छ। दसैंअघि भएका प्राकृतिक विपत्तिदेखि राजनीतिक घटनाहरूसम्मले अर्थतन्त्रलाई उक्सिन नदिएको हो।
२०८० अघिबाटै बजारले मन्दीको सामना गरिरहेको थियो। २०८१ मा दसैंको केही दिनअघि आएको बाढीपहिरोले सडक र आपूर्ति प्रणाली अवरुद्ध पार्यो। शिक्षक आन्दोलन चर्कियो। काठमाडौं उपत्यकाबाट दसैं मनाउन बाहिरिने मानिसको संख्या नै घटेर गयो।
२०८२ मा भने जेनजी आन्दोलनले व्यापारिक प्रतिष्ठानमा भौतिक क्षतिसँगै उपभोक्ताको मनोविज्ञानमा धक्का दियो। उद्यमी-व्यापारीदेखि उपभोक्तासम्मै डराए। देशभरी सञ्जाल भएको भाटभटेनीको मात्रै दसैं कारोबार अघिल्लो वर्षभन्दा ३५ प्रतिशत घट्यो।
अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी पैसा खर्च हुने ठूला चाडपर्वअघि हुने आन्दोलन, विपत्ति लगायतले स्वाभाविक रुपमा आर्थिक गतिविधि सुस्त हुने बताउँछन्। विपत्तिजन्य विषयहरू केही समयमा टरेर गएपनि राजनीतिक अस्थिरता, आन्दोलन लगायतले भने मनोबलसम्मलाई असर पार्छ।

‘आन्दोलनले लगानीमा प्रतिकूल प्रभाव पार्छ। आन्दोलनहरू हुँदा बजार राम्रोसँग चल्दैन। आन्दोलन तथा राजनीतिक गतिविधिहरूले आपूर्ति व्यवस्था, आयात, निर्यात, उत्पादन र उपभोग सबैमा प्रभाव पर्छ।’
विगतको भन्दा यसपालि अवस्था अलिकति फरक छ। पोहोर-परारको तुलनामा प्राकृतिक विपत्तिका घटनाहरू कम छन्। तर, मधेशमा भएको द्वन्द्वले एक खालको डरको माहोल छ। तैपनि व्यवसायीहरूले आयात बढाएका छन्।
नियमित तलब, दसैं भत्ता, लाभांश, रेमिटेन्स, बैंक बचत र अन्य आर्थिक स्रोतका साथै ऋणपानले गर्दा दसैंमा बढ्ने आर्थिक गतिविधिले मुर्झाएको अर्थतन्त्रलाई कम्तीमा ३ महिनासम्म गति दिने गरेको व्यवसायीहरू बताउँछन्।
दसैंतिहारका लागि बजारमा आएको पैसामध्ये करिब ८० प्रतिशत उपभोगमा जाने र त्यसबाट बढेको आर्थिक गतिविधिले त्यसपछिका ३ महिनासम्म अर्थतन्त्रलाई चलायमान बनाउने गरेको छ।
दसैंमा लत्ताकपडादेखि गाडी, घर किन्ने, अन्य उपभोग्य वस्तुको खपत बढाउने, घुम्न जानेदेखि फजुल खर्चसम्म गर्ने प्रवृत्ति हुन्छ। दसैंतिहारमा भएको व्यापारले आयात, बैंकिङ कारोबार, ढुवानी, खुद्रा बजारलाई एकैपटक चलायमान बनाउँछ।
एउटा परिवारले दसैंका लागि नयाँ कपडा किन्दा त्यसको पैसा खुद्रा पसल हुँदै होलसेलर, आयातकर्ता र उत्पादकसम्म पुग्छ। सामान आयात गर्दा भन्सार राजस्व उठ्छ, बैंकिङ प्रणालीबाट भुक्तानी हुन्छ, यातायात र ढुवानीमा खर्च हुन्छ र अन्ततः त्यही पैसा अर्को व्यवसाय वा व्यक्तिको आम्दानी बन्छ।

यही कारण दसैंको उपभोगले अर्थतन्त्रका धेरै क्षेत्रलाई एकैपटक चलायमान बनाउने गर्छ। तर यो चक्र सुरु हुनुअघि नै उपभोक्ताको विश्वास कमजोर भयो, सडक बन्द भयो वा व्यवसायको भौतिक संरचना नै क्षतिग्रस्त भयो वा उपभोग गर्न मान्छे डराए र बचततिर लागेभने त्यसको असर एउटा पसलको बिक्रीमा मात्र सीमित हुँदैन।
पछिल्ला दसैंअघिका घटनाहरुले उपभोग मात्र घटाएको छैन, अर्थतन्त्रलाई मन्दीतर्फ डोर्याइरहेको छ।
यसपालि आयात बढ्ने देखिएको छ। बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पोहोरको भन्दा पनि यस पटक माग बढेर आएको बताए। ‘आर्थिक गतविधि बढ्छ भन्ने आशा जगाएको छ,’ उनले भने।
तर, सँगसँगै उनीहरु निराश पनि छन्। ठूलो प्राकृतिक विपत्ति आएको छैन। राजनीतिक अस्थिरता हुने अवस्था पनि देखिँदैन। सरकार एकपक्षीय रुपमा हिँडेर अर्थतन्त्र चलायमान बनाउने व्यवसायीको विपक्षमा काम गरेको देखिन्छ। कमजोर मनोबल बनाएर बसेका व्यवसायीहरु यसपालीको मन्दीको स्रोत यसैलाई ठान्छन्।
‘कहिले विपत्ति त कहिले आन्दोलनले बजारको माग घटाएको थियो। आर्थिक गतिविधि बढेन,’ ती व्यवसायीले भने, ‘यसपालि सरकारको जुन खालको गतिविधि छ त्यसले मनोबल कमजोर बनाएको छ। कमजोर मनोबल पनि विपत्ति वा आन्दोलन भन्दा कम हुँदैन बजार बिस्तार रोक्न।’

बैंकिङ क्षेत्रमा भने साउनमा कर्जा र निक्षेप दुवै घटेको देखिएको छ। बैंकर्स संघका अनुसार साउनमा बैंक ऋण दुई अर्ब र निक्षेप २२ अर्ब रुपैयाँले घटेको थियो।
भदौ लागेपछि भने आयातमा सुधार देखिन थालेको बैंकरहरू बताउँछन्। घटेको ब्याजदर र पर्याप्त तरलताले चाडपर्व लक्षित आयातलाई समेत सहयोग गरेको उनीहरूको भनाइ छ।
‘ब्याज घटेको छ। तरलता अत्यधिक छ। चाडपर्वले गर्दा यसपालि आयातकर्ताहरूले सामान मगाउन एलसी खोल्न तीव्रता दिन थालेका छन्,’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने।
यसपालि सरकारले तलब तथा सुविधामा २१ प्रतिशत वृद्धि गरेको छ। निजी क्षेत्रमा कर छुट तथा सवारीसाधनको बुकिङ बढेकाले पनि बजारमा माग फर्किने अपेक्षा गरिएको छ।
नाइमा अटो सोमा भएको सवारीसाधन बुकिङले समेत उपभोक्ताको माग बढ्न सक्ने संकेत गरेको व्यवसायीहरूको भनाइ छ। विपत्ति र आन्दोलनजस्ता अवरोध नभए यसपालि दसैंतिहारले अर्थतन्त्रलाई थप गति दिने अपेक्षा गरिएको छ।
पूर्ववाणिज्य सचिव चन्द्र घिमिरे पनि चाडपर्वको समयमा आर्थिक गतिविधि बढ्ने बताउँछन्। तर, त्यही समयमा हुने अप्रिय घटनाले बजारको गति प्रभावित पार्न सक्ने उनको भनाइ छ।
‘वर्षा सकिएपछि आर्थिक गतिविधि बढ्ने समय हुन्छ। बजेट आएको हुन्छ। सरकारी कामहरू पनि हुन थालेका हुन्छन्,’ उनले भने, ‘यही बेला अप्रिय कुराहरू भए भने आर्थिक क्षेत्रलाई खलबल्याउँछ।’