काठमाडौं। कुशल भुर्तेल र आसिफ शेखको पहिलो विकेटका लागि ६५ रनको साझेदारी। आसिफको ५८ रनको योगदान। सन् २०२३ को एसिया कप।
श्रीलंकामा नेपालका लागि भारतसँगको खेल ड्रिम गेम थियो। रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ जस्ता खेलाडी एकातिर। अर्कातिर रोहित शर्मा, विराट कोहली, श्रेयस ऐय्यर जस्ता खेलाडी।
त्यसको केही दिनअघि नेपालले यसरी नै पाकिस्तानसँग खेलेको थियो। विपक्षमा थिए बाबर आजम, मोहम्मद रिजवान, शाहीन शाह अफ्रिदीजस्ता खेलाडी। यी दुवै खेलमा नेपालले हार ब्यहोर्यो।
नेपालले खेलेको पहिलो एसिया कप थियो यो। घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कप जितेर नेपाल एसिया कपका लागि छनोट भएको थियो।
भारत र पाकिस्तानविरुद्ध बहादुरीपूर्ण प्रदर्शनले नेपालले वाहवाही पनि कमायो। तर, लगत्तै अर्को संस्करणमा नेपाल छनोट हुन सकेन।
यसबाहेक नेपालले पछिल्ला वर्ष ठूलो टोलीसँग खेलको अवसर पाउँदै आएको छ। नेपालले वेस्ट इण्डिजसँग द्वीपक्षीय सिरिज खेल्दै जित्यो। नेपालले पछिल्ला वर्ष टी-२० विश्वकपमा पनि इङ्ग्ल्याण्ड, वेस्ट इण्डिज, दक्षिण अफ्रिका, बंगलादेशजस्ता शक्तिशाली राष्ट्रसँग खेलिसकेको छ।
ओडीआई फर्म्याटमा कथा फरक छ। एकदिवसीय विश्वकपको बाटो मानिने सीडब्लूसी लिग-२ का पछिल्ला चार खेलमा नेपालले सतप्रतिशत हार ब्यहोर्यो। ३२ खेल खेल्दा नेपालको प्रदर्शन दयनीय रहँदै आएको छ। यसैको दबाबमा नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको कप्तानसमेत फेरिसकेको छ।
विश्वकपपछि नेपालको ठूला खेल खेलेको छैन। आफूसँगका टोलीविरुद्धको खेलमा लय पनि राम्रो देखाएको छैन। ठूला टोलीसँग खेलेपछि मनोबल त्यसै पनि उच्च हुने गर्छ। यस्तोमा प्रश्न उठ्छ, अब कुन देशसँग?

नेपालले फेरि भारत, पाकिस्तान, श्रीलंकाजस्ता एसियाली जायन्टसँग कहिले खेल्ला? यसको जवाफ नेपालकै प्रदर्शनमा निर्भर रहन्छ। तर, केही सम्भावना नजिकिँदै गएको छ।
बंगलादेश ‘ए’/न्युजिल्याण्ड ‘ए’
अब नेपाली क्रिकेट टोलीको व्यस्त तालिका सुरु हुँदैछ। नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामा टप एण्ड क्रिकेट खेल्दैछ। यो प्रतियोगितामा अस्ट्रेलियाका स्थानीय क्लबसँगै नेपाल, बंगलादेश, न्युजिल्याण्डजस्ता देशका ‘ए’ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यसमा नेपालले बंगलादेश ‘ए’सँगै नर्थन टेरिटोरी स्ट्राइक, होबर्ट हरिकेन्स एकेडेमी, अस्ट्रेलियन क्यापिटल टेरिटोरी, हैदराबाद किंग्सम्यान एकेडेमी र भिक्टोरिया ११ सँग खेल्नेछ। यो चरणबाट अघि बढ्न सके न्युजिल्याण्डको ‘ए’ टोलीसँग खेल्ने अवसर नेपाललाई हुनेछ।
यो सिरिजपछि नेपालले न्युजिल्याण्ड ‘ए’विरुद्ध अर्को छुट्टै एकदिवसीय सिरिज पनि खेल्नेछ।
एसिया कप
नेपाली क्रिकेट टोलीले एसिया कपको छनोटका रुपमा रहेको एसीसी प्रिमियर कप खेल्दैछ। यो प्रतियोगिता जित्न सके नेपालले फेरि एकपटक भारत, पाकिस्तानजस्ता टोलीविरुद्ध खेल्न पाउनेछ।
यो प्रतियोगितामा नेपालसहित १० टोली भिड्दैछन्। मलेसियामा हुने यो प्रतियोगिताको समूह ‘ए’मा नेपाल, साउदी अरेबिया, बहराइन, मलेसिया र हङकङ छन्। समूह ‘बी’मा ओमन, यूएई, कुवेत, कतार र सिंगापुर छन्।

दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। यी मध्येबाट फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ। नेपाल रहेको समूह सहज देखिए पनि नेपालले सेमिफाइनलमा पुगेको अवस्थामा ओमन या यूएईमध्ये एकसँग भिड्नुपर्ने हुन सक्छ। यी दुवै टोलीसँग नेपालको १९/२० को प्रतिस्पर्धा रहने गरेको छ।
युएई र ओमनलाई पछि पार्न सके नेपाल एसिया कपमा पुग्न सक्छ। एसिया कपमा पुग्न सके फेरि एकपटक भारत/पाकिस्तान/श्रीलंका/बंगलादेशजस्ता टोलीसँग भिड्ने अवसर आउनेछ।
एसियन गेम्समा सिधै अफगानिस्तानसँग
नेपाली क्रिकेट टोलीको अगाडि आइपुगेको अर्को खेल प्रतियोगिता हो- एसियन गेम्स। यो प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधा छनोट खेल्नेछन्।
नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्नेछ। त्यस्तै अर्को समूहमा मलेसिया, हङकङ र ओमन भिड्नेछन्। नेपालले आफ्नो समूह चरणमा टेस्ट टोली अफगानिस्तानसँग सोझै खेल्न पाउनेछ भने नकाउट चरणमा पुग्न सके भारत, पाकिस्तानलगायत देशसँग खेल्न पाउनेछ।
यसअघि चीनमा सम्पन्न एसियाली खेलकुदमा पनि नेपालले मंगोलियालाई हराएको थियो भने भारतलाई कडा टक्कर दिएको थियो।
इङ्ग्ल्याण्ड नेपाल आउला?
नेपाल आएर खेल्ने सिरिज खेल्ने पहिलो टेस्ट टोली बन्न सक्छ इङ्ग्ल्याण्ड। यसको कुने औपचारिक घोषणा र मिति नतोकिए पनि यसको सम्भावना कायमै छ।
इङ्ग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी)ले २०२७–३१ को अन्तर्राष्ट्रिय साइकलमा नेपालमा एक टी-२० सिरिजको सम्भावना खोजिरहेको छ।
गत वर्षमात्र नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्ध सिरिज जितेर पहिलो पटक पूर्ण आईसीसी सदस्य राष्ट्रविरुद्ध सिरिज जित दर्ता गरेको थियो। तर, अहिलेसम्म नेपालले कुनै टेस्ट खेल्ने राष्ट्रको पूर्ण अन्तर्राष्ट्रिय भ्रमण गर्न पाएको छैन।
इङ्ग्ल्याण्ड र नेपाल पहिलो पटक फेब्रुअरीमा भएको टी-२० विश्वकप क्रममा आमने-सामने भएका थिए। अन्तिमसम्म चुनौती दिएको नेपालले खेल त हार्यो। तर, फाइनलको दिन पनि कमेन्टेटरहरूले नेपाल र इङ्ग्ल्याण्डबीचको खेल प्रतियोगिताकै हेर्नलायक मध्येको भन्दै तारिफ गरिरहेका थिए।

वानखेडे स्टेडियममा नेपाली दर्शकको भीडका बीच भएको त्यो रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डले अन्तिम बलमा मुस्किलले जित हासिल गरेको थियो।
क्यानका सचिव पारस खड्काले इङ्ग्ल्याण्डसँग खेलका लागि भारतमा इसीबीका अधिकारीहरूसँग भेटघाट गरेको रिपोर्टमा जनाइएको छ।
इसीबीले पछिल्ला महिनामा अन्य अन्तर्राष्ट्रिय बोर्डसँग मिलेर २०२७-३१ को भावी भ्रमण कार्यक्रममा काम गरिरहेको छ। यसमा इसीबीले नेपालमा छोटो भ्रमण गर्नेबारे गम्भीरतापूर्वक विचार गरिरहेको जनाइएको छ।
यो भ्रमण सम्भवतः भारतजस्तो कुनै देशको भ्रमणअघि तालिकामा मिलाउन सकिने देखिन्छ। दुई वा तीन खेलको टी-२० सिरिजले अर्को सिरिजको तयारीका रूपमा पनि काम गर्न सक्छ र इङ्ग्ल्याण्डको कार्यतालिकामा केही दिन मात्र थपिने हुन्छ।
घरेलु मैदानमा भारत ‘ए’
नेपालको घरेलु मैदानमा हुन सक्ने अर्को सिरिज हो- नेपाल भर्सेस भारत ए। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको टी-२० शृंखला आयोजना गर्ने क्यानका सचिव पारसले जनाएका छन्।
क्यानका अनुसार खेल मंसिर २३, २५ र २७ गते हुनेछ। तीनै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ।
शृंखला आयोजना गर्ने निर्णय स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्मेलनका क्रममा भएको बैठकबाट भएको क्यानले जनाएको छ।
बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव देवजीत साइकियाबीच छलफल भएको थियो। त्यस्तै, आईसीसीका अध्यक्ष जय शाहसँग पनि चतुरबहादुर र पारसले भेट गरे।
जिम्बाब्वे, वेस्ट इण्डिज, आयरल्याण्ड लगायत ‘ए’ टोली नेपाल आएर खेलिसकेको भए पनि टेस्ट राष्ट्रका मुख्य टोली नेपाल आएका छैनन्।