BIZMANDU
www.bizmandu.com

राष्ट्रिय सतर्कता केन्द्रले पोहोरभन्दा बढी उजुरी गर्‍यो फर्छौट, अनुगमन र कारबाहीको दायरा बढाइँदै

२०८३ भदौ ३

राष्ट्रिय सतर्कता केन्द्रले पोहोरभन्दा बढी उजुरी गर्‍यो फर्छौट, अनुगमन र कारबाहीको दायरा बढाइँदै
राष्ट्रिय सतर्कता केन्द्रले पोहोरभन्दा बढी उजुरी गर्‍यो फर्छौट, अनुगमन र कारबाहीको दायरा बढाइँदै


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइको प्रक्रिया तीव्र गतिमा अगाडि बढेको जनाइएको छ।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको तथ्यांक अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्छौट गरिएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ११.७२ प्रतिशत विन्दुले बढी हो।

केन्द्रका अनुसार विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात ७४.१० प्रतिशत उजुरी फर्छौट भएका थिए ।

यसैगरी, सार्वजनिक सेवा प्रवाहमा लामो समयदेखि जकडिएको ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न सतर्कता केन्द्रले कार्यालय अनुगमन र कारबाहीको दायरालाई निकै कडा र व्यापक बनाएको जनाएको छ

वि.सं. २०८१ चैतदेखि २०८२ साउनसम्मको अवधिमा जम्मा ३१८ वटा कार्यालयहरूको अनुगमन गरिएकोमा आचार संहिता पालना नगर्ने तथा समय पालना नगरेका २ हजार २१३ जना र तोकिएको पोशाक नलगाएका ५६२ जना गरी कुल २ हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लंघन गरेका पाइएको थियो।

तर, गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयहरूको संख्यामा झन्डै तीन गुणाले वृद्धि गरी ९२४ पुर्‍याइएको छ। जसमा आचारसंहिता र समय पालना नगरेका १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारीहरू कारबाहीमा परेका छन्।

सतर्कता केन्द्रले अनुशासन उल्लंघन गर्ने यी सबै कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिएको छ।

केन्द्रले सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउनका लागि सक्रियता बढाएको जनाएको छ।