काठमाडौं। लाभांश प्रस्तावसहित दसैंअघि नै साधारणसभा गर्ने तयारीमा बैंक तथा वित्तीय संस्था जुटेका छन्।
सामूहिक लगानी कोषहरूले धमाधम नगद वितरणको प्रस्ताव गरिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू पनि साधारणसभा स्वीकृतिका लागि राष्ट्र बैंक पुग्न थालेका हुन्।
अहिलेसम्म नबिल बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले स्वीकृतिका लागि प्रक्रिया अघि बढाएका छन्। यी बैंकले साधारणसभा प्रयोजनका लागि राष्ट्र बैंकमा विवरणसमेत बुझाएका छन्।
एभरेष्ट बैंकले बिहीबारभित्रै पहिलो चरणको स्वीकृति पाउने तयारी छ। वित्तीय विवरण अध्ययनपछि राष्ट्र बैंकले प्राथमिक स्वीकृति दिन लागेको हो।
प्राथमिक स्वीकृतिपछि एभरेष्टले सञ्चालक समिति बैठकबाट लाभांश प्रस्ताव गर्नेछ। त्यसपछि प्रस्तावसहित राष्ट्र बैंक गएर साधारणसभाको अन्तिम स्वीकृति लिनुपर्नेछ।
नबिल र सानिमाको प्राथमिक स्वीकृति प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले समेत साधारणसभा प्रयोजनका लागि प्रारम्भिक वित्तीय विवरण पेस गरिसकेको छ।
यी बैंकहरूले बोनस सेयरसँगै नगद लाभांशको प्रस्ताव गर्ने तयारी गरेका छन्। यसपटक लाभांशमा नगदको हिस्सा बढी हुने देखिएको छ।
माछापुच्छ्रे बैंक पनि बिहीबारसम्म राष्ट्र बैंक जाने तयारीमा छ। सिद्धार्थ र कुमारी बैंकले समेत यही साता स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
कुमारी बैंक चार वर्षपछि पहिलोपटक लाभांश प्रस्तावसहित राष्ट्र बैंक जाने तयारीमा छ। बैंकहरूलाई छिटो प्रक्रिया अघि बढाउन राष्ट्र बैंकले समेत सहजीकरण गरिरहेको छ।
‘राष्ट्र बैंकले पनि जति चाँडो वित्तीय विवरण आयो, त्यति चाँडो पारित गरेर पठाउने रणनीति लिएको छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बिजमाण्डूसँग भने, ‘त्यही भएर बैंकहरूले चाँडोचाँडो गरेजस्तो देखिन्छ।’
यस वर्ष दसैं बिदा असोजको अन्तिमतिरबाट सुरु हुने भएकाले बैंकलाई साधारणसभा गर्न पर्याप्त समय छ। त्यसैले लाभांश वितरण गर्न सक्ने अवस्थामा रहेका बैंकहरू प्रक्रिया सकेर राष्ट्र बैंक पुग्न थालेका हुन्।
राष्ट्र बैंक स्रोतका अनुसार बाह्य लेखापरीक्षकको सुझावअनुसार नोक्सानी व्यवस्थापन भइरहेकाले वित्तीय विवरणमा धेरै समय लगाउनुपर्ने अवस्था छैन। यही कारण राष्ट्र बैंकले पनि स्वीकृति प्रक्रिया छिटो अघि बढाउने तयारी गरेको छ।
‘चाँडो वासलात ल्याउनुस्, चाँडो साधारणसभा गर्नुस् भन्ने पक्षमा हामी छौं,’ राष्ट्र बैंक सुपरिवेक्षण विभाग स्रोतले भन्यो, ‘गभर्नरसाब बोनस सेयरभन्दा नगद लाभांशको पक्षमा हुनुहुन्छ। बैंकहरूले त्यो कुरा बुझेर होला आउनेहरूले प्राय नगद प्रस्ताव गरिरहेका छन्।’
विकास बैंकतर्फ कामना सेवा विकास बैंकले लाभांश घोषणा गरिसकेको छ। बैंकले केही दिनमै राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउने तयारी छ भने साङ्ग्रिला डेभलपमेन्ट बैंक पनि साधारणसभाको प्रक्रियामा अघि बढेको छ।
तर, सबै वाणिज्य बैंकले यसपटक लाभांश वितरण गर्ने अवस्था छैन। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाको वित्तीय अवस्था कमजोर रहेकाले उनीहरू लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेको स्रोतको भनाइ छ।
‘सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाको अवस्था त्यति राम्रो छैन। उनीहरू लाभांश दिन नसक्ने भएकाले हतार गरेर जाँदैनन्,’ उच्च स्रोतले भन्यो, ‘सरकार बैंकहरूलाई पनि खासै हतार हुँदैन।’
राष्ट्र बैंकको अनुमानअनुसार दसैंअघि करिब सात बैंकले साधारणसभा सम्पन्न गर्नेछन्। बाँकी बैंकले भने तिहारअघि साधारणसभा सम्पन्न गर्ने तयारी गरेका छन्।