काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। केन्द्रीय कार्यसमितिको निर्णय अनुसार केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।
सार्वजनिक कार्यतालिका अनुसार निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम भदौ २ देखि १९ गतेसम्म हुनेछ। उपत्यका र उपत्यकाबाहिर एकैपटक अभिमुखीकरण हुनेछ।
भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा पठाइने छ। भदौ १५ गते वडास्तरमा निर्वाचन प्रतिनिधि पठाउने केन्द्रीय निर्वाचन समितिका संयोजक प्रमेबहादुर खड्काद्वारा जारी सूचनामा उल्लेख छ।
भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तथा तालिमा हुनेछ।
कार्यतालिका अनुसार हाल सम्पन्न भएका बाहेकका जनसम्पर्क समितिको अधिवेशन भदौ मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ।
गाउँ नगरको वडा अधिवेशन भदौ २४ गते एकैपटक हुनेछ। ६७४३ वडामै एकैपटक अधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको छ। गाउँ नगर अधिवेशन भदौ २७ गते एकैपटक हुनेछ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते हुनेगरी कार्यतालिका तय गरिएको छ। प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएको जिल्लाको अधिवेशन असोज ३ गते गरिनेछ। महाधिवेशन प्रतिनिधि चयन र कार्यसमितिको निर्वाचन सोही दिन एकै पटक हुने सूचनामा उल्लेख छ।
यस्तै, जिल्ला अधिवेशन असोज ७ र प्रदेश अधिवेशन असोज १० गतेका लागि तय गरिएको छ।

