काठमाडौं। सुनसरी र सिरहा घटनामा गोली प्रहार गर्ने प्रहरीमाथि कारबाहीको सिफारिस गरिएको छ।
गोली लागेर सुनसरीको कप्तानगंजमा ३ युवा र सिरहाको गोलबजारमा एक किशोरको ज्यान गएको घटना छानबिनका लागि गठित दुई अलग समितिले कारबाहीको सिफारिस गरेका हुन्।
दुवै समितिले आफ्नो प्रतिवेदनमा प्रहरीको हतियारबाट गोली लागेर युवाहरुको ज्यान गएको निष्कर्षसहित कारबाहीको सिफारिस गरेका छन्। स्रोतका अनुसार कारबाही सिफारिस गरिएका प्रहरीको नाम भने किटान गरिएको छैन।
छानबिन समितिका अनुसार कप्तानगन्जमा सशस्त्र प्रहरी र गोलबजारमा नेपाल प्रहरीको हतियारबाट गोली प्रहार भएको देखिएको छ। दुवै घटनामा प्रहरीका कमाण्डरलाई जवाफदेही बनाउन भनिएको छ।
सुरक्षाकर्मीले भने गोली चलाएको स्वीकार गरेका छैनन्। हवाई फायरको विषयमा समितिले केही भनेको छैन।
समितिले आफूले भेटेका प्रमाण, प्रत्यक्षदर्शी र घाइतेसँगको कुराकानी तथा अन्य प्राविधिक पक्ष केलाएर तयार पारिएको प्रतिवेदन मंगलबार गृह मन्त्रालयमा बुझाएका छन्।
साउन १० गते कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिमा प्रहरी उपरीक्षक मोहनसिंह धामी, प्रहरी निरीक्षक दिपेश अवस्थी लगायत सदस्य थिए।
कप्तानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा औरही गाउँपालिका-२ का १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि गृह मन्त्रालयले १६ गते सहसचिव पुष्पराज शाहीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
यो समितिमा नेपाल प्रहरीका एसपी मोहन थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डीएसपी पवन ढुङ्गाना र गृह मन्त्रालयका उपसचिव कुलेश्वर अर्याल सदस्य थिए।
समितिले ठूला घटनामा घातक हतियार प्रयोग नगर्न सुझाव दिएका छन्। स्थिति नियन्त्रणका लागि बल प्रयोग गर्नुपर्ने अवस्था आए हतियार चलाउने प्रहरीको शरीरमा क्यामरा राख्न र गोली चलाउनुपर्ने अवस्थाको भिडियो अनिवार्य रेकर्ड गर्न समेत सुझाव दिइएको छ।