काठमाडौं। नेपाली नागरिकलाई पनि भारतमा डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराइने भएको छ।
भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) अन्तर्गतको एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल)ले भारतीयहरुलाई जस्तै नेपाली नागरिकलाई पनि डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउने भएको हो।
एनआईपीएलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भारतीय नागरिकले जस्तै नेपालीले पनि भारतमा डिजिटल भुक्तानी गर्न सक्ने सुविधा चाँडै उपलब्ध हुने बताएका छन्।
‘पहिलो चरणमा हामी फोनपेसँग जोडियौं। अब दोस्रो चरणमा काम भइरहेको छ, परीक्षण भइरहेको छ,’ काठमाडौंमा मंगलबार आयोजित राउन्ड टेबल ‘स्ट्रेन्देनिङ डिजिटल पेमेन्ट कनेक्टिभिटी बिटविन इन्डिया एन्ड नेपाल’मा शुक्लाले भने, ‘नेपालीहरू भारतमा पढ्न, औषधोपचारका लागि जानुहुन्छ। दोस्रो चरणको काम पूरा भएपछि उहाँहरूले भारतीयले नेपालमा जसरी क्यूआर स्क्यान गरेर पेमेन्ट गर्नुहुन्छ त्यसरी नै नेपालीले पनि भारतमा पेमेन्ट गर्न सक्नुहुनेछ।’
शुक्लाका अनुसार भारतमा एक दिनमा औसत करिब ७५० मिलियन कारोबार हुने गरेको छ, जसमध्ये ठूलो हिस्सा यूपीआईबाट हुन्छ। सन् २०२५/२६ मा यूपीआईबाट करिब २४१ बिलियन पटक कारोबार भएको छ। त्यसको मूल्य करिब २.३ ट्रिलियन अमेरिकी डलर बराबर हो।
अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वकै ठूलो भुक्तानी प्रणालीका रूपमा यूपीआईलाई मान्यता दिएको छ जसले विश्वभर हुने रियल-टाइम भुक्तानीको करिब ५० प्रतिशत हिस्सा समेट्छ।
दुई महिनाअघि मात्रै एनआईपीएल र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)लाई एकीकृत गरी भारत-नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानी (रियल-टाइम पीटूपी रेमिट्यान्स) सुरुवात भएको थियो।
२०८० फागुनदेखि नेपाल आउने भारतीय नागरिकले फोनपेको क्यूआरमार्फत अन्तरदेशीय यूपीआई पेमेन्ट गर्दै आएका छन्। तर, नेपालीले भारतमा जाँदा यस्तो सुविधा अहिलेसम्म पाएका छैनन्।
‘नेपालसँगै अरू मुलुकका नागरिकले पनि भारतमा आएर यसैगरी पे गर्न सकुन् भनेर दोस्रो चरणको काम भइरहेको हो,’ शुक्लाले भने, ‘यसमा सक्दो छिटो होस् भनेर हामीले काम गरिरहेका छौं।’
उनले आफ्नो प्रस्तुतीमा भारतीय इन्फ्लुएन्सरले डिजिटल पेमेन्ट र नेपालको पर्यटनको एकसाथ प्रचार गरेको भिडियोसमेत देखाए।
‘पशुपतिनाथ पुगेर हिजो मात्रै मैले गुगल पेबाट क्यूआर स्क्यान गरेर मन्दिरमा डोनेसन गरें,’ डिजिटल पेमेन्टको सुविधाबारे आफ्नै अनुभव सुनाउँदै शुक्लाले अन्तरदेशीय कारोबारलाई अझ उन्नत बनाउँदै लैजाने बताए।
‘यूपीआईमार्फत हुने पेमेन्टको प्रवर्धन गरिरहँदा हामीले नेपालको पर्यटन तथा संस्कृतिको पनि प्रचार गरिरहेका छौं,’ उनले भने।
भारतीय नागरिकले नेपालमा बिग मार्ट र भाटभटेनी स्टोरदेखि साना चिया पसलसम्म क्यूआरमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्छन्। पशुपतिलगायत धार्मिक स्थलमा पूजा सामग्रीसमेत क्यूआरमार्फत किन्न सकिने भएपछि भारतीय नागरिकले नेपालमा डिजिटल पेमेन्ट गर्दै आएका छन्।
यूपीआईको इकोसिस्टमभित्र ७४१ सदस्य र ९५ भन्दा धेरै एप्लिकेसन प्रोभाइडर छन्। भीम, पेटीएम, अमेजन पे, ह्वाट्स एप जस्ता एप्लिकेसन यही इकोसिस्टमभित्र अटाएका छन्। ६५ मिलियन भन्दा बढी मार्चेन्टलाई यूपीआईले समेटेको छ।
भारतको जीडीपी बराबरको रकम कारोबार यूपीआईबाट आर्थिक वर्ष २०२५/२६ मा प्रोसेस भएको शुक्लले जानकारी दिए।
धेरै मुलुकमा यूपीआईको माध्यमबाट पेमेन्ट हुने भएकाले आगामी दिनमा यसको उपस्थिति थप बलियो हुने देखिन्छ।
शुक्लका अनुसार सन् २०२५ मा ३३ मिलियन भारतीय नागरिकले विदेश यात्रामा ३३ बिलियन अमेरिकी डलर खर्च गरेका छन्। सन् २०४० मा ८० देखि ९० मिलियन भारतीयले विदेश यात्रा गर्ने आकलन गरिएकाले यसखाले कारोबार थप बढ्नेछ।