BIZMANDU
www.bizmandu.com

एमबीएसको प्रश्नपत्र आउट प्रकरण : ठाकुरराम क्याम्पसका अब्दुलले हलबाटै हालेका थिए ह्वाट्स एप ग्रुपमा

२०८३ भदौ २

एमबीएसको प्रश्नपत्र आउट प्रकरण : ठाकुरराम क्याम्पसका अब्दुलले हलबाटै हालेका थिए ह्वाट्स एप ग्रुपमा
एमबीएसको प्रश्नपत्र आउट प्रकरण : ठाकुरराम क्याम्पसका अब्दुलले हलबाटै हालेका थिए ह्वाट्स एप ग्रुपमा


काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम वर्षको प्रश्नपत्र बाहिरिएको घटनामा विद्यार्थीदेखि शिक्षकसम्मको संलग्नता देखिएको छ।

Tata
GBIME

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेको अनुसन्धानमा विद्यार्थीले हलबाट प्रश्नपत्र खिचेर पठाएको खुलेको छ। सीआइबीको अनुसन्धानपछि शिक्षा ऐन अन्तर्गत जिल्ला अदालत काठमाडौंमा सात जनाविरुद्ध मुद्दा दायर भएको छ।

अभियोग लगाइएकामध्ये चार जना फरार छन्। प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेका ३३ वर्षीय संदिप सिंह फाइनान्स पढाउने शिक्षक भएको खुलेको छ। उनले बागबजारस्थित केएमसी कलेज र कोटेश्वरस्थित हिमालयन कलेजमा पढाउने गरेका थिए।

‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र सामाजिक सञ्जाल ह्वाट्स एप ग्रुपमार्फत बाहिरिएको थियो। संदिपले आफूले अन्य ग्रुपबाट आएको प्रश्नपत्र र उत्तर पछि हेर्नका लागि काम लाग्ने भन्दै ग्रुप बनाएर फर्वार्ड मात्र गरेको बयान प्रहरीसमक्ष दिएका छन्। उनले ‘एमबीएस फर्स्ट सेम, सेक्सन सी’ नाममा ग्रुप बनाएका थिए।

एक हजार २३ जना रहेको समूहमा प्रश्नपत्र बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

परीक्षा हलबाटै प्रश्नपत्र खिचेर पठाउने ३१ वर्षीय अब्दुल सानी हाकिम वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी भएको खुलेको छ। उनले ‘सुभाष सर’ भन्ने व्यक्तिले प्रश्नपत्र मागेपछि आफूले परीक्षा हलमा पाउनासाथ खिचेर ग्रुपमा हालेको स्वीकार गरेका छन्। प्रश्नपत्रको उत्तर आएपछि आफूले सारेको बयान अब्दुलले दिएका छन्।

‘ग्रुप खोली हेर्दा यकिन नाम थाहा नभएको सुभाष सर भन्नेले ग्रुपमा प्रयोगकर्ताले प्रश्न पत्र? भनी प्रश्न मागेको देखेको थिएँ। त्यसपछि परीक्षा हलमा १२:०० बजेतिर प्रश्नपत्र बाँडेपछि प्रश्नपत्रको फोटो मैले नै मेरो मोबाइलबाट खिचेर ग्रुपमा पठाएको केही मिनेटमै यकिन नाम थर थाहा नभएका प्रयोगकर्ताले  ग्रुपमा प्रश्नपत्रको उत्तर पटाएपछि मैले मेरो उत्तरपुस्तिकामा सारेको हुँ,’ उनले बयानमा भनेका छन्.

‘सुभाष सर’ भन्ने व्यक्ति संदिप सिंह र प्रश्नपत्रको उत्तर पठाउने २५ वर्षीय अतुल मिश्र थिए। अतुल ठाकुरराम क्याम्पसका विद्यार्थी हुन्। उनी बीबीएस तेस्रो वर्ष पास गरेर पहिलो वर्षको ब्याक पेपरको परीक्षाको नतिजाको पर्खाइमा छन्।

हाकिमले परीक्षा हलमा मोबाइल लगेको विषयमा क्याम्पसका सहप्रध्यापक केशव कुमार यादवले आफूलाई थाहा नभएको बताएका छन्। उनले क्याम्पसको गेटमा परीक्षार्थीले मोबाइल बोके/नबोकेको जाँच गरेकाले परीक्षा हलमा खटिएका निरीक्षकले लापरबाही गरेको भन्न नमिल्ने कागज गरेका छन्।

तर, प्रतिवादी हाकिमले प्रश्नपत्र बाहिरिएको दिन खानतलासी नगरिएको बताएका छन्। उनले यो प्रकरणमा आफूले कुनै आर्थिक लाभ नलिएको र नदिएको पनि बताएका छन्।

यो प्रकरणमा संदिप र हाकिमका अलावा अतुल, ऋषीकेश प्रसाद यादव, खुम्बु गिरी, देवनाश महतो र रन्जुकुमारी गिरीलाई प्रतिवादी बनाइएको छ।