BIZMANDU
www.bizmandu.com

वासनाको प्रश्नमा विराजभक्तको जवाफ- विद्युत ट्रिपिङको समस्या समाधान गर्न कठिन

२०८३ भदौ २

वासनाको प्रश्नमा विराजभक्तको जवाफ- विद्युत ट्रिपिङको समस्या समाधान गर्न कठिन
वासनाको प्रश्नमा विराजभक्तको जवाफ- विद्युत ट्रिपिङको समस्या समाधान गर्न कठिन


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले वितरण प्रणालीमा पुराना, जीर्ण तथा न्यून क्षमताका पूर्वाधार र खपतमा भएको वृद्धिका कारण विद्युत् अवरुद्ध हुने समस्या देखिएको बताएका छन्।

Tata
GBIME

उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद वासना थापाले सोधेको प्रश्नको जवाफ दिने क्रममा विद्युत् भार धान्न नसक्दा कतिपय क्षेत्रमा बेला बेलामा विद्युत् अवरुद्ध हुने समस्या देखिने गरेको बताएका हुन्।

‘वितरण प्रणालीमा रहेका पुराना, जीर्ण तथा न्यून क्षमताका पूर्वाधार र अर्कातर्फ जनताको जीवनशैली तथा प्रविधिमा आएको परिवर्तनका कारण विद्युत् खपतमा भएको तीव्र वृद्धि पनि अहिलेको महत्वपूर्ण चुनौती हो। घरेलु विद्युतीय उपकरणको प्रयोग बढेसँगै गार्हस्थ्य उपभोक्ताको विद्युत् माग पनि वर्षेनी बढिरहेको छ। तर, पुराना र न्यून क्षमताका संरचनाले बढ्दो विद्युत् भार धान्न नसक्दा कतिपय क्षेत्रमा बेला बेलामा विद्युत् अवरुद्ध हुने समस्या देखिने गरेको छ,’ उनले भने।

उनका अनुसार वर्षायाममा कतै रुख ढलेर तार चुँडिने, कतै पोल ढल्ने तथा कतिपय स्थानमा टावर र अन्य संरचनामा क्षति पुग्ने गरेका कारण पनि ट्रिपिङको समस्या हुने गरेको हो।

मन्त्री श्रेष्ठले औद्योगिक करिडोरहरूमा प्रसारण तथा वितरण पूर्वाधारका कारण ट्रिपिङ, भोल्टेजमा उतार चढाव तथा विद्युत् गुणस्तरसम्बन्धी समस्या रहेको भन्दै जलाशययुक्त आयोजना निर्माण, प्रसारण सञ्जाल विस्तार तथा वितरण प्रणालीको सुदृढीकरण नहुँदासम्म यी चुनौती पूर्णरूपमा समाधान गर्न कठिन हुने बताए।

देशका विभिन्न स्थानमा भोल्टेजमा उतार चढाव, बारम्बार ट्रिपिङ तथा ट्रान्सफर्मरमा देखिने खराबीका विषयमा मन्त्रालयले गठन गरेको अध्ययन समितिले साउन २० गते प्रतिवेदन बुझाएको छ। मन्त्री श्रेष्ठका अनुसार समितिको प्रतिवेदनका सुझाव अनुसार सुधारका काम अगाडि बढाइएको छ।

उनले ट्रिपिङको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले बिजुलीको माग व्यवस्थापन, ट्रान्सफर्मर तथा फिडरको क्षमता वृद्धि, प्रणाली सुदृढीकरण र तत्काल मर्मत सम्भारलाई प्राथमिकतामा राख्दै समस्या न्यूनीकरणका लागि तीव्र गतिमा काम गरिरहेको बताए।

‘विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले विभिन्न ठोस कदम अघि बढाएको छ। काठमाडौं उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तार गर्ने कार्य अघि बढाइएको छ। शहरी क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न नयाँ सबस्टेसन निर्माण, प्रसारण तथा वितरण लाइन विस्तार र स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रमा भोल्टेजको उतार चढाव न्यूनीकरण गर्दै भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न डेडिकेटेड फिडरलगायत पूर्वाधार निर्माण तथा सुधारका काम अघि बढाइएका छन्।’

उनले गत आर्थिक वर्ष २०८२/८३ मा भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक सही भएको बताए। गत आर्थिक वर्ष नेपालले भारतबाट १० अर्ब ५५ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो।

कांग्रेस सांसद थापाले विद्युत निर्यातबाट सवा २९ अर्ब आम्दानी गरेको तथ्यांक सार्वजनिक गरिए पनि देशभित्र ट्रिपिङको समस्या निरन्तर दवहोरिरहेको भन्दै जनताले गुणस्तरीय बिजुली कहिले पाउँछन् भनी सोधेकी थिइन्।