BIZMANDU
www.bizmandu.com

बालेनसँग रविको ७ घण्टा गम्भीर वार्ता, ‘हाम्रो सरकार आएपछि पुँजी पलायन तीव्र, सचिवालय फेरौं’

२०८३ भदौ २

बालेनसँग रविको ७ घण्टा गम्भीर वार्ता, ‘हाम्रो सरकार आएपछि पुँजी पलायन तीव्र, सचिवालय फेरौं’
बालेनसँग रविको ७ घण्टा गम्भीर वार्ता, ‘हाम्रो सरकार आएपछि पुँजी पलायन तीव्र, सचिवालय फेरौं’


काठमाडौंं। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच साउन २४ गते झण्डै सात घण्टा वार्ता भयो। त्यो वार्तामा रास्वपाका सभापति रविले सरकार संचालनमा देखिएका कमजोरीलाई एक एक गरेर राखे।

Tata
GBIME

उच्च स्रोतका अनुसार उद्योगी व्यवसायीलाई धरपकड गरिएको विषय रविले प्रमुखताका साथ उठाए। उनले धरपकडका कारण उद्योगी व्यवसायी अत्यन्तै त्रसित देखिएका र पुँजी पलायन पनि तीब्र भएको प्रधानमन्त्री बालेनलाई सुनाए।

रविले बालेनसामु पछिल्ला दिनमा दुबईमा नेपालीको लगानी झन् बढेको उदाहरण समेत दिँदै उद्योगी व्यवसायीलाई विश्वासमा लिन नसकिए अर्थतन्त्र थप समस्यामा पर्ने बताए। ‘उद्योगी व्यवसायी आतंकित बनेका छन्। लगानीको वातावरण झन् बिग्रिएको उनीहरुको बुझाई छ,’ रविको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो सरकार आएपछि पुँजी पलायन झन् बढ्यो भन्ने सूचना आएका छन्।’

स्रोतका अनुसार हालै दुबई गएका केही व्यक्तिले रविलाई त्यहाँ नेपालीहरुले गरिरहेको लगानीका बारेमा जानकारी गराएका थिए। त्यहाँ केही वर्षदेखि लगानी गरिरहेका व्यवसायीसँग भेटेर आएका ती व्यक्तिले गरेको ब्रिफिङका आधारमा रविले प्रधानमन्त्री बालेनलाई सचेत गराएका हुन्। रविले विदेशमा पुँजी पलायनसँगै लगानीको वातावरण नभएका कारण पछिल्लो समयमा बैंकमा पैसा थ्रुपिएको समेत बालेनसामु बताए।

‘लगानी गरेर अनेक झमेलामा फस्नुभन्दा बैंकमा पैसा राख्दा ढुक्क भन्दै ब्याजतिर सिफ्ट भएको देखिन्छ। यसले अर्थतन्त्रलाई झन् समस्यामा पार्छ,’ रविले बालेनलाई भने।

स्रोतका अनुसार रविले गृहमन्त्री सुधन गुरुङका कामकारबाही परिपक्व हुनुपर्ने धारणा समेत राखे।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते सुरु भएको धार्मिक दंगा मधेशका अरु जिल्लामा समेत फैलिएर सरकार नै समस्यामा परेको थियो। यही घटनासँगै सुधनले गरिरहेको भ्रमण लगायत विषय रविलाई चित्त बुझेको छैन।

रविले बालेनलाई सचिवालयमा राजनीतिक र परिपक्व व्यक्ति राख्न भनेका छन्। प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्ति राजनीतिक र परिपक्व नहुँदा समस्या भएको बुझाई रविले सुनाए। राहदानी विवादमा प्रधानमन्त्री बालेनको सचिवालयका कारण सरकार नै विवादमा परेको भन्दै रविले परिपक्व व्यक्ति राख्न भनेका हुन्।

राहदानी विवादमा सचिवालयको हस्तक्षेपका कारण जर्मन सरकारसँग समेत द्वन्द्व सिर्जना हुने अवस्था आएको थियो। स्रोतका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेनको सचिवालयबाट भएको हस्तक्षेपका बारेमा रविलाई ब्रिफिङ गरेका थिए।

शिशिर खनाल

राहदानी विवादमा अनावश्यक रुपमा प्रधानमन्त्री बालेनको सचिवालयले हस्तक्षेप गरेको विषयले रवि झन् असन्तुष्ट बनेका थिए। स्रोतका अनुसार रविले भनेका यी सबै विषय संम्बोधन गर्ने प्रतिवद्धता प्रधानमन्त्री बालेनले गरेका थिए।

त्यही प्रतिबद्धताका आधारमा राज्य संचालनमा परिपक्वता आउने विश्वाससहित रवि राती साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएका थिए। तर, त्यो प्रतिबद्धता अनुसार काम अघि नबढ्दा रवि थप निराश भएको स्रोतले बतायो। स्रोतका अनुसार पछिल्लो समयमा एलपी ग्यासको अभावसँगै सरकार र पार्टीप्रति ठूलो निराशा बढेकोमा रवि निराश बनेका हुन्।

‘७ घण्टा बसेर गरेको छलफल अनुसार काम नै भएन। सचिवालयमा परिपक्व व्यक्ति ल्याउन पनि चाहेको देखिएन,’ स्रोतले भन्यो, ‘तीन महिनामै पार्टीप्रति यति धेरै जनता निराश भइसकेका छन्। हामीले धेरै अवसर गुमाइसकेका छौं।’

स्रोतका अनुसार सरकार संचालनको प्रवृतिमा कुनै सुधार नआउँदा विगतमा बालेनप्रति गरिएको टिप्पणीले समेत रविको टाउको खाइरहेको छ। रविले जनकपुरको चुनावी सभामा स्वर्गीय आमाको तस्विर हेरेर बालेनले देश बनाउँछ भन्ने टिप्पणी गरेका थिए।

‘जुन दिन बालेनजी र मेरो भेटघाट भयो, त्यो भेटघाट सकेर घर गएँ, भोलिपल्ट बिहान उठेर मैले हेरेँ, उज्यालो घाम लागेको थियो, मेरो घरमा मेरी स्वर्गीय आमाको तस्बिर छ, मैले मेरो आमाको तस्बिरसँग कुराकानी गरेँ’, उनले त्यो सभामा भनेका थिए, ‘ त्यसदिन बिहान जब मैले मेरी स्वर्गीय आमाको तस्बिरमा हेरेर भनें, मैले आमालाई भनें आमा बालेनले देश चलाउँछ। बालेनले हाम्रो सपना पूरा गर्छ, यो भनाइको साक्षी मेरी श्रीमती छन्, मैले उनलाई भनेर अँगालो हालेर आमालाई भनें- आमा बालेनले देश बनाउँछ, यो मेरो विश्वास हो।’

स्रोतका अनुसार रवि पार्टी संगठनलाई पूर्णता दिन नपाएकोमा पनि बेखुशी छन्। बालेनले महामन्त्री मनोनीत गर्न रविलाई नाम दिएका छैनन्। केही नाम आउँदा राजनीति बुझेको नभएको भन्दै त्यसले राम्रो नतिजा नदिने बुझाइ उनको छ।

भलै बालेन समूहमै रहेका भूपदेव शाहमा बालेन कन्भिन्स भएको सूचना रविले पाएका छन्। बालेनका प्रमुख सल्लाहकार कुमार बेन अझै भूपदेवमा आश्वस्त हुन सकेका छैनन्।

रविका विकल्प के?

जनताको भारी अपेक्षासहित बालेनलाई प्रधानमन्त्री बनाएका रविका विकल्प अत्यन्तै कम छन्। चार महिनामै कुनै अप्रिय निर्णय गर्दा जनताले तिरस्कार गर्ने त्रास रविमा छ।

त्यही भएर बालेनले चलाएको अपरिपक्व राजकाजको काउन्टर दिनसक्ने अवस्था उनीमा छैन। उनलाई सरकारले गरेका अप्रिय निर्णयविरुद्ध जान निकटहरुले दबाब दिइरहेका छन्। तर, उनले मनभित्रै असन्तुष्टि लुकाएर अहिले केही गर्न मिल्दैन भनेर जवाफ दिने गरेका छन्।

रास्वपाका सांसद

धेरै नै दबाबपछि रविले सांसदहरुलाई सरकार संचालनमा भइरहेका गल्तीका विषयमा संसद्‍मा बोल्न बाटो खोलिदिएका छन्। स्रोतका अनुसार अब मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री बालेन वा उनको सचिवालयमार्फत आउने कुनै प्रस्तावमा तत्कालै निर्णय हुने छैन, मन्त्रीहरुलाई प्रश्न गर्न छुट दिइएको छ। ‘पहिलाको जस्तो जथाभावी र आफूलाई अपजस आउने प्रस्ताव आएमा निर्णय हुँदैन,’ स्रोतले भन्यो, ‘पहिलाको जस्तो फुक्काफाल गर्न पाउने अवस्था अब रहँदैन।’

स्रोतका अनुसार शिक्षामा प्रधानमन्त्री बालेनले भनेर समता कर लगाइएकामा अन्तिममा फेसबुकमा लेखेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अपजसको भारी बोकाइएको विषयमा रवि असन्तुष्ट बनेका थिए।

डा. स्वर्णिम वाग्ले

‘कर्णाली लगायत दुर्गम भेगका विद्यार्थीको शिक्षाका लागि भन्दै प्रधानमन्त्रीले भनेर समता कर लगाइएको थियो,’ स्रोतले भन्यो, ‘तर, अन्तिममा फेसबुकमा लेखेर अर्थमन्त्रीलाई बदनाम गरियो। प्रधानमन्त्रीले भनेर लगाएको हो भनेर भन्नसक्ने अवस्था अर्थमन्त्रीलाई रहेन।’