BIZMANDU
www.bizmandu.com

निजी क्षेत्रले बनाउने अहिलेसम्मकै ठूलो आयोजना तिला-२ मा ११ बैंकको लगानी, सम्झौतामा हस्ताक्षर

२०८३ भदौ १

निजी क्षेत्रले बनाउने अहिलेसम्मकै ठूलो आयोजना तिला-२ मा ११ बैंकको लगानी, सम्झौतामा हस्ताक्षर
निजी क्षेत्रले बनाउने अहिलेसम्मकै ठूलो आयोजना तिला-२ मा ११ बैंकको लगानी, सम्झौतामा हस्ताक्षर


काठमाडौं। निजी क्षेत्रले बनाउन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजना तिला-२ मा वित्तीय व्यवस्थापनको टुंगो लागेको छ।

Tata
GBIME

ऊर्जा तिला पावर कम्पनीले प्रवर्धन गरेको ४२० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनामा सोमबार लगानीको टुंगो लागेको हो। यो आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धमा सोमबार सम्झौता भएको छ।

सम्झौता अनुसार एभरेष्ट बैंकको अगुवाइमा विभिन्न ११ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका हुन्। आयोजनामा सानिमा, प्राइम कमर्सियल, एनआईसी एशिया, ग्लोबल आइएमई, सिद्धार्थ, नबिल, कृषि विकास र नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा मुक्तिनाथ विकास र कामना सेवा विकास बैंकले लगानी गर्ने सम्झौता भएको छ।

आयोजनाका लागि कालिकोटको तिलागुफा नगरपालिकामा बाँध तथा खाँडाचक्र नगरपालिकामा विद्युत गृह निर्माण गरिनेछ । अर्धजलाशययुक्त प्रकृतिको आयोजना निर्माण गर्न कुल ७० अर्ब ७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी र २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट व्यवस्थापन गर्ने भनिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याएको छ।

आयोजनाले २०७५ भदौ ७ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमति लिइ २०८१ कात्तिक ७ गते नेपाल विद्युत प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गरेको थियो।

आयोजनाको निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने प्रवर्धक कम्पनीको लक्ष्य छ। आयोजनाको मुख्य प्रवर्धकमा स्ट्रिम इन्भेष्टमेन्ट, उर्जा इम्प्याक्ट फण्ड लगायत छन्।