BIZMANDU
www.bizmandu.com

पीएमडब्लूसी : समूह चरणमा नेपालको होराभन्दा पछाडि रहेको एसटूजी कसरी बन्यो च्याम्पियन?

२०८३ भदौ १

पीएमडब्लूसी : समूह चरणमा नेपालको होराभन्दा पछाडि रहेको एसटूजी कसरी बन्यो च्याम्पियन?
पीएमडब्लूसी : समूह चरणमा नेपालको होराभन्दा पछाडि रहेको एसटूजी कसरी बन्यो च्याम्पियन?


काठमाडौं। पब्जी मोबाइल विश्वकपको गएराति सम्पन्न फाइनलमा नेपालको होरा स्पोर्ट्स आठौं बन्यो। नेपाली टोली १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७० लाख रुपैयाँ) जित्न सफल भयो। समूह चरणबाट ५७ हजार ५०० डलर र अन्तिम चरणबाट ७० हजार डलर प्राप्त गरेको हो।

Tata
GBIME

समूह चरणमा नेपाल चौथो स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो। सोझै अन्तिम चरणमा पुग्दा नेपालले सर्भाइवल चरण खेल्नुपरेन।

यसपालि पब्जी विश्वकपमा योभन्दा रोचक कथा चाहिँ च्याम्पियन टर्कीएको एसटूजी स्पोर्ट्सको छ। समूह चरणमा नेपालभन्दा पछाडि रहेको टोली थियो एसटूजी। अर्थात्, होरा रहेको समूह ‘बी’बाट एसटूजी पाँचौं हुँदै अन्तिम चरणमा पुगेको थियो। दुई समूहबाट पाँच-पाँच टोली र सर्भाइवल चरणबाट आएका ६ टोली गरी अन्तिम चरणमा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

तर, यही एसटूजी अन्ततः प्रतियोगिताको च्याम्पियन बन्यो।

अर्थात्, समूह चरणमै होराभन्दा पछाडि रहेको टोलीले अन्तिम चरणमा बाजी मार्‍यो। एसटूजीले १५४ अंक जोड्दै उपाधि जितेर ५ लाख ५५ हजार अमेरिकी डलर अर्थात् करिब ८ करोड ४५ लाख रुपैयाँ पुरस्कार पायो।

होराभन्दा पछाडि रहेको एसटूजी कसरी बन्यो च्याम्पियन?

एसटूजी होराभन्दा पछि परेर अन्तिम चरणमा आए पनि यहाँ उसले निरन्तर राम्रो अंक जोडिरह्यो। निर्णायक अवस्थामा पुग्दा एसटूजीले ‘स्म्यास नियम’को फाइदा उठायो।

अन्तिम चरणको तेस्रो खेलमै एसटूजीले १६ अंक जोड्दै आफूलाई उपाधिको दौडमा बलियो बनाएको थियो। त्यसपछि उपाधिका प्रमुख दाबेदार टोलीहरूले निर्णायक खेलमा ‘चिकेन डिनर’ निकाल्न नसक्दा एसटूजीलाई अगाडि जाने अवसर मिल्यो।

दोस्रो खेलसम्म बलियो स्थितिमा रहेको एनएसरेड फोर्स र इएरेना पनि अन्तिमतिर दबाबमा परे। औरोराले चौथो खेलमा चिकेन डिनर निकाल्दै उपाधिको दौडलाई थप रोमाञ्चक बनाए पनि एसटूजीलाई उछिन्न सकेन।

अन्ततः एसटूजी १५४ अंकसहित च्याम्पियन बन्यो। एनएसरेड फोर्स १४९ अंकसहित दोस्रो तथा औरोरा गेमिङ १४६ अंकसहित तेस्रो भए।

यसको अर्थ समूह चरणमा होराभन्दा पछाडि रहेको एसटूजीले अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपको उपाधि नै आफ्नो नाममा गर्‍यो।

यता होरा स्पोर्ट्सले अन्तिम चरणको दोस्रो दिन तीन खेल खेल्दा पर्याप्त अंक जोड्न नसकेपछि १०९ अंकसहित आठौं स्थानमा चित्त बुझायो।

विश्वकप खेल्न गएका खेलाडी जब ढल्न थाले

विश्वकप चलिरहँदा एउटा अनौठो घटना पनि घट्यो। अन्तिम चरणको पहिलो दिन केही खेल सुरु भएपछि खेल नै पछि सार्नुपरेको थियो।

होराका ‘नोफियर’ भनेर चिनिने आयुष लामासहित टोलीका केही खेलाडी बिरामी परेका थिए। नोफियर स्वास्थ्य समस्याका कारण अन्तिम चरणका केही खेल गुमाउन पुगे।

यस्तो अवस्थामा पनि होराले आठौं स्थान हासिल गर्दै करिब १ करोड ७० लाख रुपैयाँ बराबरको पुरस्कार जित्न सफल भयो। अघिल्लो संस्करणमा होरा स्पोर्ट्स नवौं स्थानमा थियो।