नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद सधैंका लागि समाधान गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन्।
उनले सोमबार नेपाल विद्युत प्राधिकरणको ४१औं वार्षिकोत्सव समारोहमा डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद थाँती रहँदा देशकै कार्यक्षमतामाथि प्रश्न उठेको बताए।
‘डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद यो मुलुकको अनइफिसियन्सी हो। एउटा समस्या १० वर्षसम्म पनि समाधान हुँदैन। तर दोष कसैलाई पनि दिइँदैन,’ उनले भने, ‘१० वर्षसम्म पनि समाधान गर्न नसक्ने समस्या हुन्छ? मुलुकको इफिसियन्सी खै? समाधान गर्नु पर्यो। ’
डेडिकेटेड लाइनको महसुल बक्यौता विवादले व्यावसायिक वातावरण नै बिग्रिएको उनको भनाइ छ। ‘यसले गर्दा व्यवसायीलाई नेगेटिभ्ली हेर्ने, समाजमा नगेटिभ लाञ्छना लगाउने भएको छ,’ उनले भने, ‘त्यसैले अब सधैंका लागि विवाद समाधान गरिदिनुपर्यो।’