काठमाडौं। लामो समयदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुन: संचालन गर्न अध्ययन कार्यदल गठन गरिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखाना पुन: संचालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगंज चिनी कारखाना पुन: संचालनका लागि यस अघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ।
कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न सीमा तोकिएको छ। कार्यदलको संयोजकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सिडिई श्रीकान्त यादव र सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि रहनेछन्।
कार्यदलले कारखानाको वित्तिय, आर्थिक, प्राविधकि र कानुनी अवस्था विश्लेषण गरेर प्रतिवेदन बनाउनेछ।
कारखाना परिसरमा रहेका भवन, संरचना, मेसिनरी तथा पार्टपुर्जा उपयोगबारेमा अध्ययन गरेर प्रयोगमा ल्याउन सकिने वा नसकिने बारे कार्यदलले सुझाव दिनेछ। त्यस्तै, नयाँ प्रविधि र संरचना आवश्यकबारे पनि कार्यदलले अध्ययन गरेर सुझाव दिनेछ।
साथै, कार्यदलले चिनी कारखानाको स्वामित्वमा रहेको सम्पत्तिको पनि अध्ययन गर्ने भएको छ।